उदयपुर । उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ३३ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या ३३ पुगेको छ ।
त्रियुगा नगरपालिकाद्वारा निर्मित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा तीन जना, नेपाली सेनाको शार्दुल गण बोलस्रोत व्यारेकमा २६ जना र लिम्चुङबुङ गाउँपालिकाको शिरवानी माध्यमिक विद्यालय बाराहामा तीन जना र रौतामाई गाउँपालिका मुर्कुचीको स्वास्थ्यचौकीमा रहेको क्वारेन्टाइनमा एक जना गरी ३३ जना पुगेको छ । भने कटारी अस्पतालको आइसोलेशन वार्डमा रहेका ताप्ली गाँउपालिका ४ ठानागाउँ घर भएका ३८ वर्षीय कीर्तिमान मंग्राती शनिबार विहान भागेका हुन् । उनले आइसोलेसन बेडमा झोला र मोबाइल छोडेर भागेका हुन् ।
जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार मोतिगडामा बस्ने तीनजना मध्ये दुईजना मजदुरी गर्न गई नवलपारासीबाट फर्केका कामदार हुन् । उदयपुरको रौतामाई गाउँपालिका बासी उनीहरु सोमबार विहान बसबाट गाईघाट आएका थिए । दुईवटा बसमा आएका ८१ जना मध्ये दुईजनालाई सामान्य ज्वरो देखिए पछि चिकित्सकको सल्लाहमा क्वारेन्टाइनमा राखिएको हो । जिल्ला अस्पतालमा जाँच गरिएको थियो । अन्यको अवस्था सामान्य देखिए पछि घर पठाइएको छ । अर्का एकजना भने दार्जिलिङबाट आएका मानिस हुन् । उता रौतामाईको मुर्कुचीमा सोही गाउँपालिकाको वडा नं. १ का एकजना रहेको पालिकाले जनाएको छ । उनीसहित चारजना क्वारेन्टाइनमा बसेका छन् । अर्को एकजना भने जिल्ला अस्पतालको आइसोलेशनमा रहेको प्रमुख सुवेदीले बताए ।
यस्तै त्रियुगा नगरपालिका भित्र २ भेन्टिलेटर, २० आइसोलेशन वार्ड र २५ बेडको अस्थायी क्वारेन्टाइनको व्यवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयको फोकल पर्सन लौकाजी राईले जानकारी दिए । उनका अनुसार सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा २ आइसियु सहित ७ बेड आइसोलशनको व्यवस्था छ भने जिल्ला अस्पतालमा ६ बेडको आइसोलेशन, रौता हस्पिटल गाईघाटमा ५ बेडको आइसोलेशन र त्रियुगा हस्पिटलमा २ बेडको आइसोशेलन व्यवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन लौकाजी राईले जानकारी दिए । उनका अनुसार त्रियुगा जनता बहुमुखी क्याम्पसमा २५ बेडको अस्थायी क्वारेन्टाइन समेत निर्माण गरेको जानकारी दिए ।
यस्तै चौदण्डीगढी अस्पतालमा १० बेड र रामप्रसाद राई खेलमैदानमा निर्मित सामाजिक भवनमा डाक्टर र अक्सिनजन सहित ७ बेडको आइसोलेशन कक्षको व्यवस्थापन गरेको छ भने विभिन्न वडामा गरी ३९ वटा क्वारेन्टाइन बेडको प्रबन्ध भएको जिल्ला फोकल पर्सन राईले जानकारी दिए ।
यस्तै कटारी नगरपालिका स्थित नेपाली सेनाको शार्दुल गण बेलस्रोत ब्यारेकमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरिएको छ भने कटारी अस्पतालमा एक बेडको आइसोलेन वार्डको व्यवस्थापन गरिएको छ । बेलका नगरपालिका २ मा १० बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ ।
यस्तै उदयपुरगढीमा चार वार्डको आइसोलेन कक्ष, ताप्ली गाउँपालिकामा ७ बेडको अस्थायी क्वारेन्टाइन बेड, लिम्चुङबुङ गाउँपालिकामा २० बेड र रौतामाईको मुर्कुचीमा ३ बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरिएको छ ।









