उदयपुर । शुक्रबार र शनिबार लकडाउनका कारण सुनसान उदयपुरको सदरमुका गाईघाट लगायत आसपासका बजारम डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी जवानहरुलाई जलजलेका युवाहरुले विस्कुट, पानी, माक्स र पञ्जा बाँडेका छन् । एक जनाले मिनरल वाटर, एक जनाले विस्कुटको झोला । अर्कोले माक्स र पञ्जा भिन्नाभिन्नै पोका । ‘लकडाउन अवज्ञा गर्दै हिँडेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिइरहेको अवस्थामा त्रियुगा नगरपालिका ६ जलजलेका रेशमा होटलका संचालक तथा समाजसेवी सन्तोष चौधरीको टिमले नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई पानी, विस्कुट, माक्स र पञ्जा दिँदै आएको रहेछ ।’, जलजले चेकपोइन्टका ट्राफिक प्रहरी हबलदार भेषबहादुर थापाले भने । ‘हामीले उनलाई सतर्क गर्न केही नजिक पुग्यौं । उनीहरुले पानी, विस्कुट, माक्स र पञ्जा हामीलाई पो दिन आएको रहेछ ।’
लकडाउनको तेस्रो दिन होटलमा बसेर समाचार पोर्टलहरु हेर्दै रहेछन् । ध्यान खिचेछ एउटा समाचारले जसमा पाउरोटी र चाउचाउकै भरमा प्रहरी खटिनु परेको जानकारी थियो । लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्थाबारे खबर पढ्दा दुःखी भए । सन्तोष चौधरीले नागरिक बसह अनलाइनसँग भने । ‘खिन्न महसुस भयो । किन कुनै व्यवस्थापन विना निर्णयहरु हुन्छन् होला ? एउटालाई जोगाउन किन अर्कोको बारेमा सरकारले सोचिदैन होला ? यस्तै कुरा मनमा खेल्यो ।’
यसले मेरो ध्यान खिच्यो रेश्मा होटलका संचालक सन्तोष चौधरीले बताए । उनले भने, ‘अरु चार पाँच जनालाई यस विषयमा सुनाए । उनीहरु पनि लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई सकेको सहयोग गर्न तयार भए ।’ उनकै एउटै योजना – दिनभर गर्मी सहेर सुरक्षामा खटिने प्रहरी र बैदेशिक रोजबागबाट हिड्दै आएका बटुवाहरुलाई पानी, विस्कुट, माक्स र पञ्जा पुर्याउने ।
‘लकडाउनमा धेरै परसम्म पुग्न त सकिँदैन तर त्रियुगा नगरपालिका भित्रका जलजले, देउरी, बगहा, मोतिगडा, गाईघाट, राजाबास, चुहाडेसम्मका भएका सुरक्षाकर्मीहरुलाई पुर्याउन सकिएला भन्ने थियो’, उनले भने ।
प्रहरीलाई नसोधी सिधैं पानी, विस्कुट पुर्याउँदा कुनै समस्या हुन्छ कि भन्ने डर पनि थियो उनको मनमा ।
‘ट्राइ त गरौं’ भन्ने सोचले डोर्यायो । लकडाउनको पाँचौ दिन पानी, विस्कुट, माक्स र पञ्जा गाडीमा हालेर निस्किए । जलजलेबाट शुरु गरे डिउटीमा खटिएका केही प्रहरी भेटे । उनीहरुले सोध्नुअघि आफू त्यहाँ पुग्नुको कारण बताए । प्रतिक्रिया सामान्य रह्यो ।
‘मैले लगेको पानी, विस्कुट, माक्स, पञ्जा प्रहरीले स्वीकारे । बद्लामा हाँसो र धन्यवाद दिए ।’ उनले भने । ‘रिसाउनु होला भन्ने ठानेको थिएँ । खुशी हुनुभयो । मलाई पनि खुशी लाग्यो ।’
प्रहरीले घरमै बस्नु भन्दै निर्देशन दिइराख्दा किन यत्रो जाँगर ? प्रश्नमा चौधरीले भने ‘यो एकअर्काको लागि जसरी सकिन्छ त्यसरी सहयोग गर्ने समय हो ।’
उनी नेपाली सेनामा कार्यरत रहदाको कुरा सम्झदै भने, ‘संकटकालको समयमा केही नखाई नखाई १२ घण्टासम्म डिउटी गरेको दिन याद आयो, त्यो समय अर्कैै थियो, यो समय अर्कै हो ।’ उनी नेपाली सेनाबाट अवकास लिएर जलजलेमा रेश्मा होटल सञ्चालन गर्दै आएका छन् ।
सुरक्षाकर्मी, बाटो हिडने बटुवा सहित करिव २ हजार पाँच सयलाई पानी, विस्कुट, माक्स र पञ्जा वितरण गरेको बताए । उनलाई साथ दिनेहरुका वर्षा रानी एकेडेमी, बब्लु साह किराना पसल, जितु हास फेन्सी पसल र भविष्य मोवाइल एण्ड टेण्ट सर्भिज रहेका छन् । उनीहरु सबै जलजलेका स्थानीयहरु हुन् ।

तपाईको प्रतिक्रिया