उदयपुर । स्थानीय तहहरुमा क्वारेन्टाइनस्थल बनाउने लहर चलेको छ । यही लहरमा उदयपुरको लिम्चुङबुङ गाउँपलिकाले विद्यालयभित्रै २० शैयाको ‘क्वारेन्टाइन’ बनाएको छ । 
लिम्चुङबुङ गाउँपालिका ३ बाराहा स्थित शिरवानी माध्यमिक प्राविधिक विद्यालयलाई क्वारेन्टाइन स्थल बनाइएको हो । कोरोनाको संक्रमण फैलिन नदिन गाउँपालिकाले स्वाथ्य उपकरणसहित क्वारेन्टाइन तयार पारेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए ।
‘अहिले २० वटा शैयासहित क्वारेन्टाइन तयार पारेका छौं, उनले भने, ‘क्वारेन्टाइनमा आवश्यक सबै सुरक्षाको सामान पनि राखिएको छ । खाना, बास लगायतको सवै व्यवस्था गरिएको छ ।’ विदेशबाट आएका मध्ये तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आएका दुई जना र कतारबाट आएका एक जनालाई रहेका छन् । उनीहरुमा अहिलेसम्म केही लक्षण देखा नपरेपनि क्वारेन्टाइनमा बस्न आग्रह गर्दा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेका अध्यक्ष राईले बताए ।
गाउँपालिकाले विदेशबाट आएकाहरु सेल्फ क्वारेनटाइनमा बस्नसमेत अनुरोध गरेको छ । विदेशबाट आएर घरमै क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना संक्रमणको लक्षण देखिए तुरुन्त स्वास्थ्य चौकी वा गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरेको प्रमुख प्रशासकिय अधिकृत टाजन कुमार लिम्बुले जानकारी दिए ।
गाउँपालिकाले चार ठाउँ हेल्प डेक्स राखेको छ । लिम्चुङबुङ गाउँपालिका वडा नं. ३ माझखर्क, वडा नं. ५ को बुइखा भन्जयाङ, वडा नं. ४ को चनौटे र वडा नं. १ को बतासेघाट पुलमा हेल्प डेक्स राखिएको छ । गाउँपालिका प्रवेश गर्नुअघि प्रत्येक व्यतिmको स्वास्थ्य जाचँ गरिएको छ ।
बाहिरबाट आएकाहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने गरि गाउँकार्यपालिकाले निर्णय गरेको छ भने क्वारेन्टाइनमा बस्न नचाहने र अपरिचितलाई गाउँपालिका प्रवेशमा पूर्णरुपमा निषेध गरिएको छ ।
लकडाउनमा बाटो बन्द
लकडाउनको उल्लङघन गरी सवारी साधन चलाउने चालकहरुलाई कटारी नगरपालिका ४ का युवाहरुले बाटो बन्द गराइदिएका छन् । लकडाउनको बेला पनि अनावश्यक सवारी साधन लिएर हिँड्ने गरेकाहरुलाई युवाले बाटो नै बन्द गरेका छन् ।
कोरोना संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन आफ्नो टोलमा अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् । टोलबाट आफु पनि घरबाट ननिस्किने र अरुलाई पनि टोलमा प्रवेश गर्न नदिने भन्दै उनीहरुले प्रवेश निषेध गरेका हुन् ।
टोलका अगुवा युवा दिपक माझीका अनुसार टोलको प्रवेशद्वार नै बन्द गरेर अपरिचितलाई गाउँ टोल छरछिमेकमा प्रवेश निषेध गरेको बताए । टोलबाट मोटरसाईकल तथा अपरिचित व्यक्तिहरुको आउजाउ बढेपछि उनीहरुले बाटो बन्द गर्दै प्रवेश निषेध गरेका हुन । अन्य व्यक्तिहरुलाई पनि जथाभावि वाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।

यस्तै उदयपुरगढी गाउँपालिका वडा नं. ५ मा पनि नाकाहरुमा अतिआवश्यक सवारी साधनबाहेक अन्यहरुको लागि पूर्णरुपमा बाटो बन्द गरेको छ । अपरिचितहरुलाई बाटो हिड्न समेत नदिइएको वडाध्यक्ष कुमार अधिकारीले जानकारी दिए ।









