उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ मा स्वास्थ्यकर्मीको टोली सहित वडाध्यक्षले घरघरमा माक्स बाँड्दै कोरोना भाइरसको बारेमा जनचेतना जगाउँदै आएका छन् । गरिव, दलित, असाहय, अतिविपन्न वर्गका परिवारहरुको स्वास्थ्य चेक जाँच गर्दै घर घरमा पुगेर हातधुने सावुन र माक्स वितरण गर्दै आएका छन् । सरकारले लागू गरेकोे लकडावनको पूर्णरुपमा पालना गर्न आग्रह गर्दै जनचेतासमेत अभिवृद्धि गर्दै आएको वडाध्यक्ष कमलध्वज राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार घरघरमा स्वास्थ्यकर्मीको टोलीले बैदेशिक रोजगारबाट फर्केकाहरुको स्वास्थ्य परीक्षण गर्नुको साथै सम्भावित संक्रमित हुन नदिन माक्स वितरण र जनचेतनामूलक कार्यक्रम गरिएको बताए ।
उनका अनुसार साउदी, दुबई, भारत लगायतका देशबाट आएका ७ जनालाई स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरिएको बताए ।वडा कार्यालयको स्वास्थ्य तर्फको १ लाख बजेटबाट माक्स र हातधुने साबुन वितरण गरिएको वडाध्यक्ष राईले जानकारी दिए ।
नागरिकको स्वास्थ्य भन्दा अरु ठूलो विषय हुनै नसक्ने भन्दै वडाध्यक्ष स्वयम वडावासीको घरघरमा पुगेको वडा सदस्य उद्धव भुजेतलले बताए ।
पवित्रा विश्वकर्माले माक्स वितरण गर्दै गर्दा भने, ‘हाम्रो वडाध्यक्ष मनकारी हुनुहुन्छ, स्वास्थ्यप्रति संवेदनशील हुनुहुन्छ, यसअघि पनि हाम्रो गाउँ ठाउँमा स्वास्थ्यकर्मीको टोलीसहित परिवारैको चेकजाँच गरिदिनु भएको हो ।’ उनले थपे, ‘ हाम्रो वडाका वडाध्यक्ष जस्तो अरु वडाका वडाध्यक्ष भएमा हाम्रो चौदण्डीगढीमा कोरोना भाइरस नै छिर्न पाउँदैन, कोरोना भाइरसको विरुद्ध लड्न हामी सवैको दायित्व हो ।’
वडा कार्यालयले यसअघिका दिनहरुमा पनि प्रत्येक महिनाको एक दिन स्वास्थ्यकर्मीको टोली सहित वृद्धवृद्धा, बालबालिका, गरिव विपन्न परिवारका सदस्यहरुको स्वास्थ्य परिक्षण गर्दै आएका थिए । वडा नं. ६ मा अनुमानित १० हजार जनसंख्या रहेको छ ।

तपाईको प्रतिक्रिया