उदयपुर । विश्वमा नोवेल कोरोना भाइरसले तहसनहस पारिरहेको अवस्था नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्लाको त्रियुगा नगरपालिकाले कोरोना भाइरस संक्रमणको रोकथामको लागि २५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । जनताको स्वास्थ्य र सुरक्षालाई मध्य नजर गर्दै नगरपालिकाले मोतिगडा स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा २५ बेडको क्वारेन्टाइनको व्यवस्था गरेको हो । त्रियुगा नगरपालिकामा चैत्र महिनामा बैदेशिक रोजगार तथा अध्ययनको शिलसिलामा बाहिर रहेकाहरुलाई मध्य नजर गर्दै रोगको संक्रमण देखिएमा क्वारेन्टाईन राखिने त्रियुगा नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।
पानी, विद्युत, शौचालय, खाना, सुरक्षा र एम्बुलेन्सको समेत व्यवस्थापन गरेर क्वारेन्टाइन निर्माण गरिएको चौधरीले बताए । मेयरका अनुसार त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र खोटाङको केही गाउँपालिका र नगरपालिकाको आउजाउ गर्ने नाका लालपत्ता हुँदै सिरहा, सप्तरी, सुनसरी, मोरङको साथै राजधानीबाट त्रियुगा भित्रिने प्रमुख प्रवेशद्वार भएकाले नगर भित्रिने सबैलाई स्वास्थ्य परिक्षण गरी गरी अनिवार्य क्वारेन्टाइनमा राख्न लागिएको बताए ।
त्रियुगा जनता क्याम्पसमा रौतामाई गाउँपालिकाका कोरोना आशंका वा सम्भावित व्यक्तिहरुलाई पनि राख्ने गरी पहिलो चरणमा २५ बेडको निर्माण गरिएको मेयर चौधरीले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयलगायत आधा दर्जन नीजि अस्पतालहरु रहेकाले क्वारेन्टाइन स्थापनाको पहल नगरे पनि पछिल्लो समय संभावित संक्रमितको आगमन बढ्दै गएपछि आवश्यक ठानेर क्वारेन्टनाइन स्थापना गर्न लागेको मेयर बलदेव चौधरीले बताए ।
कोराना संक्रमित आउनेहरूको हेरचाह गर्ने व्यवस्था नगरपालिकाले गर्ने छ । कोरोना भाइरसको जोखिमबाट बच्न, सबैलाई घर भित्र रहन र लक डाउन उल्लंघन नगर्न समेत मेयरले आग्रह गरेको छ ।
खाद्यान्न, ओढ्ने ओछ्याउने र स्वास्थ्यकर्मीको समेत व्यवस्था गर्ने गरि क्वारेन्टाइन निर्माण गरेको बताए । क्वारेन्टाइन निर्माणको रौतामाई गाउँपालिका र त्रियुगा उद्योग वाणिज्य संघले समेत सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया