काठमाडौं । सरकारले मंगलबार (११ गते) देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते सम्मका लागि अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आदेश दिएको छ।
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको हो।
७७ वटै जिल्लामा लागू हुने उक्त आदेश दिएको हो ।
निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले बताए ।
संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ।
ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’
निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।
यो पनि पढ्नुस्









