काठमाडौं । सरकारले मंगलबार (११ गते) देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते सम्मका अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आदेश दिएको छ।
के के सुचारु रहने ?
सुरक्षाकर्मी र तोकिएका वायुयान, अत्यावश्यक ढुवानीका सवारी साधन, प्रेस, औषधि दूध, खानेपानी र इन्धनका सवारी साधन, औषधि र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग तथा सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, सञ्चार, भन्सार र क्वारेन्टाइन कार्यालय।
के के रोकिए ?
व्यावसायिक आन्तरिक उडान, सार्वजनिक यातायात, अत्यावश्यकबाहेकका सम्पूर्ण निजी क्षेत्रका उद्योग बन्द गरिने, सर्वसाधारण व्यक्ति घरबाट बाहिर निस्कन नपाइने।
सरकारी निर्णयअनुसार अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
निजी कर्मचारीलाई पनि विदा
यसैगरी स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, विद्युत, दूरसञ्चार, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यकबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ ।
निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पनि बिदा दिने निर्णय सरकारले आदेश जारी गरेको छ । यो आदेश औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगको हकमा भने लागू हुने छैन ।
यस आदेशको कार्यान्वयनका लागि देशभरका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गरिने सरकारले निर्णय गरेको छ ।
नेपालमा अहिलेसम्म दुई जनामा कोरोनाको भाइरस पुष्टि भएको छ । त्यसमा पनि एकजना निको भइसकेका छन् ।
संक्रमण अरु फैलिन नदिने उद्देश्यका साथ सरकारले लकडाउनको निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया