उदयपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता उदयपुरका खेलाडीहरुलाई चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भमा सम्मान गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाले ३ सय वर्ष पुरानो ऐतिहासिक चौदण्डीगढी दरबारमा भव्य कार्यक्रमको विच सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्ने नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।सम्मानित हुनेहरुमा चौदण्डीगढी नगरपालिका ७ की बविता श्रेष्ठ, रन्जना राई र बन्दना राई, वडा नं. ६ की निशा राई र कविता राई रहेका छन् । उनीहरुले साफ गेममा महिला तर्फको हेण्डबल प्रतियोगितामा रजत पदक विजेता हुन् ।
यस्तै भारतोलन तर्फको खेलमा कास्य पदक विजेताहरु चौदण्डीगढी नगरपालिका ४ की संगीता राई र महिला फुटबल तर्फको खेलमा रजत पदक विजेता बेलका नगरपालिका ४ की दिपा राईको साथै सागमा भारतोलन तर्फको स्वर्ण पदक विजेता कटारी नगरपालिकाकी अनुपमा मगर र बेलका नगरपालिकाकी संगिता मगरलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए । उनका अनुसार सागमा स्वर्ण, रजत र कास्य पदक विजेताहरुलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद र सम्मान पत्र सहित सम्मानित गर्ने बताए ।
यस्तै जिल्ला हेण्डबल उदयपुरका प्रशिक्षक पर्वत गुरुङ, सहायक प्रशिक्षकद्वय विन्दा कुमारी थापा र पार्वती राईलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकारले घोषणा गरेका सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने अभियानलाई सफल बनाउन ‘राइट टु चौदण्डीगढी’ ६० किलोमिटर साइकल यात्रा शुभारम्भ गर्ने समेत कार्यक्रम रहेको छ । सो कार्यक्रममा उपस्थित हुन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, व्यपारी वुद्धिजीवि, खेलाडी तथा सर्वसाधारणलाई चौदण्डीदरबारमा उपस्थित हुन समेत आग्रह गरेको छ ।
यो पनि पढ्नुस्