उदयपुर – स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका ४ विद्यार्थी साम्योक हाङ्ग राई दोस्रो स्मृति शिक्षा पुरस्कारबाट पुरस्कृत भएको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीले आफ्नो दिवंगत विद्यार्थी साम्योक हाङ्ग राईको सम्झना स्वरुप अक्षय कोषबाट ४ विद्यार्थीलाई पुरस्कृति गरिएको हो ।
साम्योक हाङ्ग राई दोस्रो स्मृति शिक्षा पुरस्कारबाट २०८२ सालको त्रियुगा नगर स्तरीय आधारभूत तहको परीक्षा (कक्षा ८) मा यस एकेडेमीबाट उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमा अनुजा भण्डारी, आयुषा थापा, मिनुषा राई र मनिस विक रहेका छन् । उनीहरुले कक्षा ८ को नगर स्तरीय परीक्षामा सम्मान अङ्क ४ जिपिए ल्याएका थिए ।
पुरस्कारको व्यवस्थापन साम्योक हाङ्ग राई स्मृति शिक्षा पुरस्कार (अक्षय कोष) बाट भएको हो । स्वर्गिय साम्योक हाङ्ग राईको सम्झनामा पिता तारा किरण राईले १ लाख बराबरको रकम बराबर अक्षय कोष स्थापना गरी सो कोषको व्याजबाट ४ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई दामासाहीमा २ हजार पाँच सयका दरले पुरस्कार सहित प्रमाण पत्र समेत वितरण गरेको थियो ।
पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष तिलक बहादुर कटुवाल, विशेष अतिथि साम्योक हाङ्ग राई स्मृति शिक्षा पुरस्कारका संरक्षक तारा किरण राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङ लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रमको अध्यक्षता स्ट्याण्डर्ड भिजन एकेडेमीका अध्यक्ष सुखिलाल चौधरी, संचालन प्रबन्ध निर्देशक नवराज सिंह ठकुरी र स्वागत प्रिन्सिपल मनोज चौधरीले गरेका थिए ।









