उदयपुर । उदयपुरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा धर्ना दिएका छन् । सरकारी सूचना तथा विज्ञापन वितरणमा रहेको विभेदकारी र स्वेच्छाचारी नीतिको विरोधमा उदयपुरका पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाको आह्वानमा आयोजित उक्त कार्यक्रममा पत्रकारहरूले नीतिगत सुधारको माग गरेका छन् । नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलन कार्यक्रम अन्तर्गत उदयपुरमा पनि पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि दबाबमूलक प्रदर्शन गरेका हुन् ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय उदयपुरको मूल गेटमा आयोजित धर्ना कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सरकारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।
पत्रकारहरूले हातमा प्लेकार्ड बोकेर सरकारको निर्णयप्रति असहमति जनाएका थिए । उनीहरूले ‘सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर’, ‘जिम्मेवार पत्रकारिता हामी गर्छौं, प्रेस स्वतन्त्रताका लागि अघि बढ्छौं’, ‘नेपाल पत्रकार महासंघका माग तत्काल सम्बोधन गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर’ तथा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा तथा नागरिकको निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । महासंघका अनुसार सरकारसँग पटक–पटक संवाद र आग्रह गरिए पनि मागप्रति आवश्यक पहल नभएकाले आन्दोलनलाई थप सशक्त बनाइएको हो ।
त्रियुगा नगरपालिकामा दुई वर्षमा ६१ करोड २१ लाखले बजेट घट्यो, कुन पालिकामा कति बजेट ?
सुखिलाल चौधरी, उदयपुर ।
संघीय सरकारको अन्तर सरकारी वितीय हस्तान्तरणबाट प्राप्त हुने बजेट त्रियुगा नगरपालिकामा दुई वर्षको अन्तरालमा ६१ करोड २१ लाखले घटेको छ ।
त्रियुगा नगरपालिकामा आर्थिक वर्ष २०८१÷८२ मा १ अर्व ४७ करोड २ लाख रहेको थियो । चालु आव २०८२÷८३ मा १ अर्व ८ करोड ७१ लाखमा झर्यो । आगामी आव २०८३÷८४ मा ८५ करोड ८१ लाख बजेट पाउने भएको छ । दुई वर्षमा त्रियुगा नगरपालिकाको बजेट ६१ करोड २१ लाखले घटेको हो ।
समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाउने गरेको छ । आगामी आवमा त्रियुगा नगरपालिकाको चालु तर्फ ७७ करोड ९५ लाख र पुँजीगत तर्फ ७ करोड ८६ लाख गरी ८५ करोड ८१ लाख पाउने भएको छ । चालु आवको तुलनामा २२ करोड ९० लाखले घटेको हो । त्रियुगा नगरपालिकाको दिर्घकालिन योजनाहरु बनाउन नसक्दा बजेट घट्दै गएको हो ।
आगामी आवमा उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी ३ अर्ब ९३ करोड ९४ लाख बजेट पाएका छन् । नगरपालिका तर्फ २ अर्व ५२ करोड ८४ लाख र गाउँपालिका तर्फ १ अर्व ४१ करोड १० लाख बजेट पाउने भएको छ । उदयपुरमा चालु तर्फ ३ अर्व ५९ करोड ९० लाख र पुँजीगत प्रकृति तर्फ ३४ करोड ४ लाख गरी ३ अर्व ९३ करोड ९४ लाख बजेट विनियोजन भएको छ । चालु आवको तुलनामा आगामी आव २०८३÷८४ मा २८ करोड २८ लाखले बजेट घटेको हो ।
कटारी र चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा चालुको तुलनामा बजेट बढेर आएको छ भने त्रियुगा सहित पाँच पालिकाहरुको बजेट घटेको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा २२ करोड ९० लाखले बजेट घटेको हो ।
कटारी नगरपालिकाको लागि संघिय सरकारले चालु तर्फ ५५ करोड ५८ लाख र पुँजीगत तर्फ ५ करोड ७२ लाख गरी कुल ६१ करोड ३० लाख बजेट छुट्याइएको छ । चालु आवको तुलनामा ४ करोड ५० लाखले बढी हो ।
चौदण्डीगढी नगरपालिकामा चालु तर्फ ५० करोड ६० लाख र पुँजीगत तर्फ ६ करोड ४० लाख गरी ५७ करोड बजेट पाउने छन् । चालु आवको तुलनामा ६ करोड १७ लाखले बढी हो ।
बेलका नगरपालिकामा चालु तर्फ ४५ करोड ६४ लाख र पुँजीगत तर्फ ३ करो ९ लाख गरी ४८ करोड ७३ लाख बजेट पाउने छन् । चालु आवको तुलनामा २ करोड १० लाखले घटेको छ ।
यस्तै उदयपुरगढी गाउँपालिकामा चालु तर्फ ४१ करोड ५९ लाख र पुँजीगत तर्फ २ करोड ३३ लाख गरी ४३ करोड ९२ लाख बजेट पाउने भएको छ । चालु आवको तुलनामा ४ करोड ९६ लाखले घटेको छ ।
भने ताप्ली गाउँपालिकामा चालु तर्फ २६ करोड ५१ लाख र पुँजीगत तर्फ १ करोड १८ लाख गरी २७ करोड ६९ लाख बजेट संघिय सरकारबाट पाउनेछन् । चालु आवको तुलनामा आगामी आव १ करोड ९४ लाखले घटी बजेट पाएको छ ।
रौतामाई गाउँपालिकामा संघिय सरकारबाट चालु तर्फ ३८ करोड ६९ लाख र पुँजीगत तर्फ ४ करोड ४६ लाख गरी ४३ करोड १५ लाख बजेट पाउनेछन् । चालु आवको तुलनामा आगामी अवमा ५ करोड १४ लाखले घटी बजेट पाउने छन् ।
लिम्चुङबुङ गाउँपालिकाको बजेट २६ करोड ३४ लाख संघिय सरकारबाट पाउने छन जसमध्ये चालु तर्फ २३ करोड ३४ लाख खर्च गर्न पाउने छन भने पुँजीगत तर्फ ३ करोड खर्च गर्र्न पाउने छन् । चालु आवको तुलनामा आगामी आवमा २ करोड ३७ लाखले बढी बजेट पाउने छन् ।









