काठमाडौं / मापदण्ड विपरित सिमेन्ट विक्री गर्ने विभिन्न सिमेन्ट उद्योगमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही अघि बढाएको छ ।
गुणस्तरहिन सिमेन्ट विक्री गरी उपभोक्ता ठगी गरेको र भवन जोखिममा पार्ने काम गरेको भन्दै विभागले होङ्सी अर्थात शिवम, गणपति, शुभश्री जगदम्बा लगायका सिमेन्टमाथि कारबाही अघि बढाएको राजधानी दैनिकमा समाचार छापिएकोे छ ।
विभागले अत्याधिक गुणस्तरहिन भेटिएपछि गणपति सिमेन्ट विक्री वितरणमा रोक लगाएको छ । विभागले होङ्सी, गणपति र शुभश्री जगदम्बा सिमेन्ट बजारबाट फिर्ता गर्न सञ्चालकलाई पत्राचार गरेको छ । विभागले गुणस्तरहिन भन्दै खरिद नगर्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।
उपभोक्ताले होङ्सी, गणपति र शुभश्री जगदम्बा लगायतका सिमेन्टबाट ठगिएको भन्दै उजुरी परेपछि ती सिमेन्ट उद्योगमाथि कारबाही थालिएको विभागले जनाएको छ । यस्तै, उपभोक्ताले सगरमाथा सिमेन्ट पनि गुणस्तरहीन भएकाले आफुहरु ठगिएको भन्दै कारबाहीको माग गर्दै आईरहेका छन् ।
विभागले काठमाडौं, ललितपुर, मोरङ, जनकपुर, झापा र बारा पुगेर ३४ वटा नमूना लिई परीक्षण गरेको थियो । यसरी परीक्षण गर्दा होङ्सी, गणपति र शुभश्री जगदम्बा लगायतका सिमेन्ट पूर्ण रुपमा गुणस्तरहीन भेटिएको प्रवक्ता उपनिर्देशक रोमी मानन्धरले जानकारी दिईन् ।
होङ्सीको ओपीसी र पीपीसी दुवै सिमेन्टमा म्याग्नेसिम अत्याधिक बढी भेटिएको छ । गुणस्तरयुक्त ओपीसी सिमेन्टमा म्याग्नेसियमको मात्रा ५ प्रतिशत हुनुपर्छ तर, होङ्सीको ओपीसी सिमेन्टमा म्याग्नेसियमको मात्रा ५ दशमलव ८ भेटिएको प्रवक्ता मानन्धरले बताईन् । बजारमा रहेका होङ्सी सिमेन्ट फिर्ता गर्न सञ्चालकलाई निर्देशन दिएको प्रवक्ता मानन्धरले जानकारी दिईन् ।
यसैगरी, गणपति, शुभश्री जगदम्बा सिमेन्टमा पनि परीक्षणको क्रममा म्याग्नेसियमको मात्रा ५ दशमलव ८ भेटिएको विभागले जनाएको छ । म्याग्नेसियम बढी भएको सिमेन्टले घर, भवन तथा पुल निर्माण गर्दा छिट्टै भत्कने जोखिम उच्च हुन्छ ।
होङ्सी, गणपति र शुभश्री जगदम्बा सिमेन्ट लगायतका सिमेन्टमा मापदण्डविपरीत विक्री गरेको पाइएको थियो ।
विभागका अनुसार जाँचका क्रममा गणपति सिमेन्टमा दुईवटा कैफियत भेटिएको थियो । जस अनुसार म्याग्नेसियम अत्याधिक बढी देखिएको छ भने सिमेन्टलाई पूर्ण रुपमा गुणस्तरहीन बनाउने पदार्थ आईआर (अघुलनशील पदार्थ) समेत अत्याधिक बढी भेटिएको छ । होङ्सी र शुभश्री जगदम्बाले गुणस्तरहीन सिमेन्ट विक्री गरेर उपभोक्ता ठगी गरेको पाइएपछि ती सिमेन्टमाथि पनि विभागले कडा कारवाही गर्ने तयारी गरेको छ । गुणस्तरहीन सिमेन्ट विक्री गरी उपभोक्ता ठगी गर्ने क्रममा सुधार नगरे ती सिमेन्ट उद्योगको इजाजतपत्र समेत रद्द गर्न सक्ने चेतावनी विभागले दिएको छ ।

तपाईको प्रतिक्रिया