उदयपुर । कोरोना भाइरस कोभिड १९ को लागि उदयपुरको भुल्के केन्द्रविन्दका रुपमा देखा परेसँगै जिल्लाकै मानिस विरामी परे उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा सकस हुँदै गएको छ । विराटनगर र धरानका सबै अस्पतालका डाक्टर उदयपुरको नाम सुन्ने बित्तिकै बिरामी उपचार गर्ने कार्यमा लापारबाही गर्नुका साथै भर्ना लिन छाडेका छन् ।
बेलका नगरपालिका ५ की १६ वर्षीय समीक्षा मगरले समयमै उपचार नपउँदा आँखाको दृष्टि गुमाउन पुगेकी छिन् । बैशाख १२ गते बुबा दलबहादर र आमासँगै खेतमा सिमल तरुल खन्ने क्रममा दाहिने आँखामा चोट लाग्यो । चोटले रातभर खासै दुख दिएन । तर, भोलिपल्ट मध्याह्नमा उनको आँखामा समस्या र दुखाई सुरु भयो । बुबा दलबहादुरले तत्कालै बेलका नगरपालिका ९ रामपुर ठोक्सिलास्थित स्वास्थ्य चौकीमा उपचारका लागि विरामीलाई पुराए । त्यहाँ उपस्थिती चिकित्सकले आँखाको नानीमा चोट भएकाले धरान स्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान सुझाव दिए ।
आँखामा दुखाई बढ्दै जाँदा शरीरमा तापक्रम बढ्यो । आँखाको उपचार गर्न बिपी पुगेको बिरामीलाई चिकित्सकहरूले कोरोनाको शंकास्दपमा तीन दिन आइसोलेसनमा राख्यो ।
आइसोलेसनमा बस्दा सीमित औषधि प्रयोग गर्दा आँखाको राम्रो र समयमा उपचार हुन सकेन । ३ दिन आइसोलेसनमा बसेपछि समीक्षाको बैशाख १६ गते कोरोना रिपोर्ट नेगेटिभ आयो । त्यसपछि बिपीले आँखाको नानीमा समस्या जनाउँदै विराटनगरस्थित विराटनगर आँखा अस्पताल लैजान भन्यो । बिपीले १८ गते डिस्चार्ज दियो ।
यतिञ्जेलसम्म आँखामा चोट लागेको ६ दिन वितिसकेको थियो । तर, युवतीको आँखामा कुनै सुधार हुन सकेको थिएन । थप उपचारका लागि विराटनगर आए पनि आँखामा नराम्ररी चोट लागेको कारण दृष्टि गुमिसकेको अस्पतालले जनाएको छ ।
आँखाको नानी जोगाउन नै गाह्रो अवस्था रहेको जनाएको अस्पतालले परिवारसँग सल्लाहगरि अघि बढ्ने जनाएको छ । अस्पतालका डा. विक्की गुप्ताका अनुसार विरामीको आँखामा चोट रहेको र कति सम्म जोगाउन सकिन्छ त्यसबारे उपचार गरिने जानकारी दिए ।
‘उदयपुरबाट आएको विरामी भन्नसाथ तीन दिन आइसोलेसनमा राख्दा उपचारमा समस्या भयो । बिपीले समयमै आँखाको हेर्न अर्कोतर्फ जानु भनेको भए उपचारका लागि धेरै समय यतै रोकिनु पर्ने थिएन । ढिलो हुने थिएन ।’ पीडितका बुबा दलबहादुरले भने, ‘उपचार आँखाको गर्नु पर्ने, खोज्न थाले कोरोनाले गर्दा मेरो छोरीको आँखा गुमेको छ । समयमै उपचार हुँदा छोरीको आँखाको ज्योति त गुम्ने थिएन ।’ बुबा दलबहादुरका अनुसार आँखाको ज्योति गुमि नै सक्यो तर, अव आँखाको दाना बचाउने कोषिसमा डाक्टरहरु लागि परेको जानकारी दिए ।
अहिलेको अवस्थामा ज्वरो आउना साथ विरामी भर्ना नलिनु र कोरोनाकै शंकाले हेर्ने अस्पतालको परिपाटीले सर्वसाधारणलाई समस्या पर्दै गएको पीडितका बुबाले बताए ।
एक दाई एक दिदीसहित कान्छी बहिनी समिक्षाको परिवार बुबाको खेती किसान पेशाले धानेको थियो । स्थानीय लिटिल स्टार स्कुलमा कक्षा ८ मा अध्यनरत समिक्षा अवल विद्यार्थी हुन् ।पढाईका साथै समिक्षा आफैँ पनि फुटबल खेलाडी हुन् । स्थानीय तहसंगै काठमाडौंमा आयोजित प्रतियोगितामा समेत सहभागिता जनाइसकेकी समिक्षाको उपचारमा सहयोगका लागि महिला प्रशिक्षक भगवती रानामगरले आग्रह गरेकी छिन् । प्रशिक्षक भगवति भन्छिन्, ‘मेरै प्रशिक्षणमा खेल्दै आएकी हुन् । अग्रपंक्तिबाट खेल्ने समिक्षाको संभावना राम्रो छ । तर आँखाको चोटका कारण भविष्य के हुने हो अन्योल भएका छौं ।’
आर्थिक अवस्थाले समेत कमजोर मगर परिवारलाई उपचारका लागि शुक्रबार एन्फाका तर्फबाट सहायक महासचिव बसन्त अर्यालले २५ हजार र स्थानीय विराट सांग्रिला फुटबल क्लबले २५ हजार रुपैया उपलब्ध गराएको छ ।

उदयपुरको विरामीलाई उपचारमा सकस
कोरोनाभाइरस कोभिड १९ को लागि उदयपुरको भुल्के केन्द्रविन्दका रुपमा देखा परेसँगै जिल्लाकै मानिस विरामी परे उपचारका लागि सकस हुँदै गएको छ । अस्पतालमा ज्वरो आए भर्ना नलिने, भर्ना भएका विरामीलाई निकाल्ने तथा ज्वरो आउँदै गर्दा कोरोनाको शंका गर्ने परिपाटी देखिएको छ ।
यस्तै हातको अप्रेशनका लागि भर्ना भएका उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षका भीमबहादुर खत्रीलाई शुक्रबार अप्रेशन थिएटरबाटै नोवेलले निकालेको छ ।
बारीमा घाँस काट्ने क्रममा लडेका खत्रीको देब्रे हात भाँच्चिएको छ । उपचारका लागि बिहीबार नोबलमा भर्ना भएका उनलाई डाक्टरले शुक्रबार बिहान ९ बजे शल्यक्रिया गर्ने समय दिएका थिए ।
शल्यक्रियाका लागि ३२ हजार रुपैयाँ बुझाई सकेर अप्रेशन थिएटरमा लगिसकेपछि डाक्टरले भीमलाई ठेगाना सोध्दा उदयपुर भनेपछि निकालिदिएका हुन् ।
थिएटरबाट निकालिएका विरामी भतिजलाई लिएर काका शमशेरबहादुर खत्री कोशी अस्पताल पुगेका छन् । कोशीले उनलाई आइतबार शल्यक्रिया गरिदिने बताएको छ ।
त्यस्तै उदयपुर बेलका नगरपालिका–४ की ५२ वर्षीया रत्नमाया तिम्सिना वैशाख १४ गते पुट दुखेर विराटनगरस्थित विराटनगर अस्पताल प्रालि (विराट नर्सिङ होम) उपचार गर्न आइन् । तर, तिम्सिनालाई आकस्मिक कक्षका चिकित्सले भर्ना नलिइ गेटबाटै फर्काइदिए । ‘उदयपुरबाट ल्याएको भनेपछि करिब १ घन्टा बाहिरी गेटमा रोक्यो,’ छोरा उमेशले भने, ‘त्यसपछि बल्ल आकस्मिक कक्षको गेटमा पुग्यौं, त्यहाँका चिकित्सकले पहिला कोसी अस्पतालबाट कोरोना भए नभएको रिपोर्ट लिएर आएपछि मात्रै भर्ना गर्ने भन्दै फर्काइ दिए ।’ उनीहरूले त्यसपछि कोसी अस्पताल लगेर उपचार गराए ।
त्यस्तै विराटनगरको नोबेल टिचिङ अस्पतालले पनि बुधबार प्रसुतिका लागि अप्रेशन गर्न तयारी गर्दै गर्दा चिकित्सकले उदयपुरको ठेगाना देख्नसाथ उपचार नगरी रेफर गरेका छन् । अस्पतालले बिरामीको पुर्जीमा ‘रेफर टु कोसी जोन हस्पिटल बिकाउज पेसेन्ट फ्रम उदयपुर’ लेखेर कोसी अस्पताल पठायो । मंगलबार प्रसुतिका लागि अस्पतालमा भर्ना भएकी उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटकी २९ वर्षीया सरस्वती रौनियारलाई शल्यक्रियाका क्रममा थिएटरबाट निकालिएको  पीडितका श्रीमान् प्रकाश गुप्तले बताए ।
यस्तै शुक्रबार नै पीडित परिवारले पीडित परिवारले राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय विराटनगरमा नोवेल मेडिकल कलेज विरुद्ध उजुरी दिएका छन् ।
गर्भवती महिलामाथि देखाएको व्यवहारप्रति नोबेल मेडिकल कलेजलाई कारबाही गर्ने  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बताएका छन् ।

तपाईको प्रतिक्रिया