उदयपुर । उदयपुर घर भएकै कारण विराटनगरको नोबल मेडिकल कलेजले शुक्रबार पनि बिरामीलाई उपचार नगरी फर्काइदिएको छ । हातको अप्रेशनका लागि भर्ना भएका उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षका भीमबहादुर खत्रीलाई शुक्रबार अप्रेशन थिएटरबाटै निकालेको हो ।
बारीमा घाँस काट्ने क्रममा लडेका खत्रीको देब्रे हात भाँच्चिएको छ । उपचारका लागि बिहीबार नोबलमा भर्ना भएका उनलाई डाक्टरले शुक्रबार बिहान ९ बजे शल्यक्रिया गर्ने समय दिएका थिए ।
शल्यक्रियाका लागि ३२ हजार रुपैयाँ बुझाई सकेर अप्रेशन थिएटरमा लगिसकेपछि डाक्टरले भीमलाई ठेगाना सोध्दा उदयपुर भनेपछि निकालिदिएका हुन् ।
थिएटरबाट निकालिएका विरामी भतिजलाई लिएर काका शमशेरबहादुर खत्री कोशी अस्पताल पुगेका छन् । कोशीले उनलाई आइतबार शल्यक्रिया गरिदिने बताएको छ ।
‘एक्सरे, एमआरआई सबै गरेपछि अप्रेशनका लागि छुट्टै ३२ हजार रुपैयाँ जम्मा गरेँ’ समशेरबहादुरले भने, ‘अप्रेशन थिएटर छिराएर केहीसमय राखेपछि त्यसै निकालिदिए ।’
अप्रेशन कक्षभित्र ठेगाना सोधेर आफूलाई निकालिदिएको भीमले बताएका छन् । ‘डाक्टरले कागज हेर्दै घर उदयपुर हो भनेर सोध्नुभयो’ उनले भने, ‘हो भनेपछि तिम्रो अप्रेशन हुँदैन भन्नुभयो ।’
बुधबार नोबलले प्रसुतिका लागि भर्ना भएकी उदयपुर त्रियुगा नगरपालिका ११ गाईघाटकी २९ वर्षकी सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट निकालेको थियो । ती महिलाले कोशी अस्पतालमा छोरा जन्माएकी छन् ।
अस्पतालले उदयपुर घर भएकै कारण निकालेको जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त घटना छानबिन गर्ने बताएको छ । तर शुक्रबार नोबलले पुनः यस्तै घटना दोर्होयाएको छ ।
बिहीबार भर्ना भएका भीमको शुक्रबार डा. प्रकाश सिटौलाको टोलीले शल्यक्रिया गर्ने तयारी थियो । तर बिरामी कोरोना भाइरसको इपिसेन्टरबाट आएको देखिएपछि जोखिम नलिएको डा. सिटौला बताउँछन् ।
‘एडमिट गर्दा सबै कुरामा ध्यान नदिएको रहेछ’ उनले भने ‘उदयपुर धेरै संक्रमित भेटिएको ठाउँ हो, उपचार गर्नुअघि कोरोना परीक्षण गर्नुपर्छ ।’ बिरामीमा कोरोना परीक्षणपछि मात्र आफूले शल्यक्रिया गर्ने बताएको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया