उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ११ गाईघाट घर भएकै कारण बिराटनगर स्थित नोबेल मेडिकल कलेजले एक बिरामीलाई शल्यक्रिया कक्षबाट बाहिर निकालेको छ । प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा नगरपालिका–११ की सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट निकाल्दै नोबेलले कोशी अस्पताल रेफर गरेको हो ।
प्रसूति व्यथा लागेपछि मंगलबार नोबेलमा भर्ना गरिएकी उनको बुधबार बिहान शल्यक्रिया गर्ने समयमा उदयपुर घर भएको बुझेपछि चिकित्सकले शल्यक्रिया कक्षबाटै बाहिर निकालेर रेफर गरेको उनका श्रीमान प्रकाश गुप्ताले बताउँछन । प्रसुतिको लागि आवश्यक सबै प्रक्रिया पुरा गरेपछि सरस्वतीलाई अप्रेशन थिएटरमा लगिएकोमा चिकित्सकले बिरामीको ठेगाना उदयपुर देखेपछि शल्यक्रिया गराउन नमानेको उनको भनाइ छ ।
शल्यक्रिया कक्षमा प्रवेश गराएपछि तत्काल बाहिर निकालेर कोशी अस्पतालमा रेफर गरेको गुप्ताले बताउँछन । अप्रेशन गर्ने बेलामा बिरामीको विवरण हेरेपछि रेफर गरिदिएको उनको भनाइ छ । नोबेलबाट रेफर भएर आएकी सरस्वतीको कोशी अस्पतालमा सफल शल्यक्रिया भएको छ । उनले छोरा जन्माएकी छन् भने दुबै जनाको स्वास्थ्य अवस्था राम्रो रहेको श्रीमान गुप्ताले बताए ।
नोबेल मेडिकल कलेजले उदयपुरबाट आएको बिरामी भएकोले रेफर गरिएको पुर्जीमै लेखेको छ । नोबेलबाट आएको रेफर कागज हेरेपछि कोशीका चिकित्सक नै छक्क परेका थिए । नोबेल मेडिकल कलेजले भने शल्यक्रियाका लागि भर्ना भएकी बिरामीमा ज्वरो आएको दाबी गरेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले शल्यक्रिया गर्ने बेलामा ज्वरो देखिएकाले चिकित्सकले कोरोनाको शंका गरेपछि कोशी पठाएको दाबी गरे । तर, कोशीका चिकित्सक र उनका श्रीमानले ज्वरो नआएको बताएका छन् ।
नोबेलले रेफर गरेको कागजमा पनि ज्वरो आएको लेखिएको छैन । नोबेलले बिरामी उदयपुरकै भएका कारण रेफर गरेको थियो । यसअघि नोबेलले मोरङको पथरी घर भएकी एक बृद्धाको अपरेशनको तयारी गरेको बेला खोकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । नोबेलका सञ्चालक सुनिल शर्माले भने कोरोना संक्रमितको लागि अस्पताल नै सरकारलाई दिने प्रचार गर्दै आएका छन् । तर, सामान्य अवस्थाका बिरामीलाई पनि बिनाकारण उपचार नगरी फिर्ता गर्ने गरिएको छ । उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएको भएपनि जिल्ला भरका बिरामी लिन अस्पतालहरुले अस्वीकार गर्दै आएका छन् । केही दिन अघि पनि विराटनगरको बिराट नर्सिङ होमले उदयपुर घर भएका बिरामीलाई भर्ना नगरी गेटबाटै फर्काएको थियो । पेट दुखेर अस्पताल आएकी उदयपुरको बेलका नगरपालिका–४ रामपुरकी ५२ बर्षीया रत्नमाया तिम्सिनालाई आकस्मिक कक्षमा कार्यरत चिकित्सले भर्ना नलिई गेटबाटै फर्काइ दिएका थिए ।
बिराटले बिरामी लिन नमानेपछि उनलाई कोशी अस्पताल भर्ना गरिएको थियो । पहिले कोरोनाको भए÷नभएको रिर्पोट लिएर आएपछि मात्रै भर्ना गरिने चिकित्सकले बताएका थिए । सरकारले कोरोनाको बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । तर, बिरामीले भने उपचार अभाबमै ज्यान गुमाउनु पर्ने जोखिम देखिएको छ ।
रेफर गरेको बिरामीमा आरडिटी पोजेटिभ देखिएपछि गोल्डेनमा तनाब
यसैबीच कम्मरको हड्डी भाँचिएर उपचारका लागि बिराटनगरको गोल्डेन अस्पताल हुँदै बीएन्डबी अस्पताल काठमाडौं पुगेका उदयपुरका एक व्यक्तिमा आरडीटी पोजेटिभ देखिएको सुचनापछि बिहीबार दिनभर अस्पतालमा तनाबको अवस्था बनेको छ । बीएण्डबी अस्पतालले आरडिटी पोजेटिभ देखिएपछि पाटन अस्पताल रेफर गरेका ती बिरामीको पीसीआर परीक्षणमा भने नेगेटिभ आएको बुझिएको छ ।
बुधबार गोल्डेनले रेफर गरेका बिरामीको आरडिटी पोजेटिभ देखिएको सुचनापछि गोल्डेनमा बिरामीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीहरु आतंकित बनेका थिए । उनीहरुले बिहीबार दिनभर उनको पिसिआर रिपोर्ट पर्खेर काम नगरी बसेका थिए । आफूले रेफर गरेको बिरामीको आरडिटी नेगेटिभ देखिएपछि बिहीबार दिउँसो ३ बजेसम्म गोल्डेन अस्पतालको सबै काम ठप्प भएको थियो । बिरामीको पिसिआर नेगेटिभ आएपछि सबैलाई सहज भएको अस्पतालका सञ्चालक दिनेश ठाकुरले बताए ।

तपाईको प्रतिक्रिया