उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा एसले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नदीजन्य पदार्थ उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।
नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटीका कार्यवाहक अध्यक्ष धन नारायण श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा त्रियुगा नगरपालिकाले आफैले बनाएको ऐन कानुन विपरित नदीजन्य पदार्थको उत्खननमा रोक लगाउदा नगर भित्र भइरहेको भौतिक पुर्वाधार तथा व्यक्तिगत निर्माणमा असर पुगेको भन्दै खुलाउन माग गरेको छ ।

नगरपालिकाले असोजको तेस्रो साता वित्न लाग्दा पनि नदीजन्य उत्खनन फुकुवा गर्नु पर्नेमा नगरेका कारण भौतिक निर्माणमा खटिने सिकर्मी, डकर्मी, ढुंगा, गिटी, बालुवा ब्यबसाय गर्ने तथा यस संग सम्बन्धित मजदुर तथा ट्रयाक्टर, टिफर ब्यबसायीको अबस्था दिनदिनै दयनिय बनेको भन्दै यथासिघ्र नदिजन्य पदार्थमा लगाइएको रोक हटाउन नेकपा एसले माग गरेको छ ।

नदीजन्य पदार्थको आपूर्तिकालागि खोलामा भएको सामाग्रीको संकलन, प्रशोधन र आपूर्ति सबैभन्दा सहज तरिका हो । नजिकैको नदी जन्य पदार्थ ल्याउन संकलन गर्न सकेमा कम खर्च लाग्ने, सस्तोमा सामान पाइने भएकोले उत्खनन खुला गर्नु उचित हुन्छ । तर बातावरण संरक्षण गर्ने, नदीको दोहन रोक्ने, नदीजन्य विपद्लाई न्यूनीकरण गर्ने नाममा नदीजन्य उत्खनन रोक्नु गरिब मजदुरको मुखबाट माड खोस्नु हो र यो कार्यको समर्थन गर्न नसकिने भएकोले चाडपर्वको मुखमा दैनिक नदीजन्य उत्खननको काम गरेर गुजारा गर्ने मजदुरहरुकोलागि उत्खनन कार्य फुकुवा गरेर सहज वातावरणमा बाँच्न पाउने अधिकार सुरक्षित गरिदिन अनुरोध गरिएको छ ।

उक्त ज्ञापनपत्रमा नदीजन्य उत्खननको काममा मजदुरहरुले फर्कन नपाउने हो भने आन्दोलनमा उत्रने र त्यसबाट हुने क्षतिको जिम्मेवार नगरपालिका नै हुने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया