उदयपुर । त्रियुगा नगरपालिका १२ जनप्रेमी आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको विवादमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश र अन्तरिम आदेशको लागि छलफलमा झिकाउने आदेश गरेको छ । नियम बमोजिम स्थगित मदतान पुनः मतदानको माग बमोजिम प्रदेश सांसद सुनिता कुमारी चौधरी, इश्वरमान राई, नवराज घिमिरे सहित १० जनाले उच्च अदालत विराटनगरमा दर्ता रिटमा कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशको लागि छलफलमा झिकाउने आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायधीस राम बहादुर थापाको एकल इजलासले यस्तो आदेश दिइएको हो ।सांसद चौधरी स्वयं मतदानबाट वञ्चित भएकी थिइन् । उनले पुनः मतदानको माग गर्दै दिएको रिटमा उच्च अदालत विराटनगरले विपक्षीसँग लिखित जवाफ माग्नुका साथै अन्तरिम आदेशका लागि जेठ १६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

गत वैशाख ३० गते मतदानका दिन वडा नं. १२ को जनप्रेमि आधारभूत विद्यालय मतदान केन्द्रको चुनाव पुनः मतदान हुने भन्दै स्थगित गरिएको थियो । तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले अझैसम्म त्यहाँ फेरि चुनाव गर्ने वा नगर्ने बारेमा ठोस निर्णय दिएको छैन । त्यस दिन पुनः मतदान गर्ने भन्दै कर्मचारीले लाइनमा उभिरहेका मतदातालाई समेत मतदान गर्न नदिई निर्वाचन कार्यक्रम स्थगित गरेका थिए ।
३० वैशाखमा मतदान अधिकृतहरुले समयभन्दा ढिला मतदान सुरु गरेको, एक घण्टा खाजा छुट्टी लिएको र लाइनमा उभिएका मतदातालाई मतदानको अधिकारबाट वञ्चित गरी समय अगावै स्थगित गरेको प्रदेश सांसद चौधरीले बताइन् ।

सांसद चौधरीका अनुसार वर्षात र असहज परिस्थितिका कारण पुनः मतदान गर्ने भन्दै सूचना टाँस गरिएकोमा ११ दिनसम्म पनि सो वडामा पुनः मतदानको विषय अन्योलमा छ ।

मतदान अधिकृत र कर्मचारीले निर्वाचन विथोल्ने नियतले विहानैदेखि ढिलासुस्ती गर्ने, मतदातालाई अनावश्यक रुपमा सोधखोज गर्ने र लामो समय उभ्याएर दुःख, झञ्झट दिने काम गरेको कतिपय मतदाताले आरोप लगाएका छन् ।

कर्मचारीले औलामा मसी लगाइसकेका मतदातालाई पनि मतदान गर्न नदिएको, मतपत्रमा हस्ताक्षर गरेर मतदान नै नगरी त्यत्तिकै फिर्ता पठाएको पनि मतदाताले आरोप लगाएका छन् ।

मतदान अधिकृत र कर्मचारीले जथाभावी गरेको भन्दै मतदान स्थलमै नाराबाजी समेत भएको थियो । मुख्य निर्वाचन अधिकृत दीपक खनाल र सुरक्षा अधिकारीहरुले घटनास्थलको अवलोकन गरेका थिए । पछि वर्षात पनि भएपछि पुनः मतदानका लागि सूचना गरिने भन्दै ४ः३० बजे मतदान स्थगित गरिएको थियो । मतदान स्थगित गरिँदा लाइनमा रहेका उम्मेदवार र मतदाताले समेत भोट हाल्न नपाएको वडाध्यक्षका उम्मेदवार लक्ष्मी चौधरीले बताए ।
मतदान स्थगित भएको अन्य ठाउँमा मतदान हुँदा यहाँका मतदाता पनि मतदान गर्न पाउनेमा आशावादी थिए । राष्ट्रिय समाचार समिति उदयपुर सम्वाददाता हरिकुमार राई भन्छन्, ‘हामीलाई हाम्रो मतदान गर्नबाट बन्चित नगराइयोस् ।’ पत्रकार हरिकुमार राई पनि दुई घण्टा लाइनमा बस्दा समेत मतदान पाएनन् ।

यसबीचमा स्वास्थ्यको कारण देखाउदै मुख्य निर्वाचन अधिकृत दीपक खनालले जिम्मेवारीबाट हटाउन निवेदन दिएपछि निर्वाचन आयोगले उत्तम सिलवाललाई सो जिम्मेवारीमा नियुक्त गरेको छ ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले त्रियुगा नगरपालिका– १२ मा पुनः मतदानका विषमया ठोस निर्णय निर्देशन नआएको बताए । निर्वाचन आयोगको आयुक्त राम प्रसाद भण्डारी सहितको उच्च स्तरीय टोलीले  राजनीतिक दल, उम्मेदवार, मतदाता, मतदान अधिकृत, सुरक्षाकर्मी लगायतसँग भेट गरी फर्केको उनले जानकारी दिए ।
नगरको अन्य वडाहरुको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा थन्किएका छन् ।

यसबीचमा मतदान गर्नबाट बञ्चित सयौंको संख्यामा मतदाताहरुले पुनः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, जनता समाजवादी पार्टी लगायत ९ राजनीतिक दलले पुनः मतदानको माग राखेका छन् भने नेकपा एमालेका उम्मेदवारले भने मतगणनाको माग राखेका छन् ।

नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार वसन्त बस्नेतले मतगणनामा सहमति जनाए पनि उपप्रमुखले पुनः मतदान हुनुपर्ने बताएकी छन् ।

यस्तै मेयरका स्वतन्त्र उम्मेदबार अम्बिका कुमारी रेग्मी, उपमेयरका स्वतन्त्र उम्मेदबार रामकिसुन चौधरीले पुनः मतदानको माग गरेको छ ।
यस्तै स्वतन्त्रबाट मेयरका उम्मेदबार बनेका चित्र कुमार कार्कीले बहुमतको निर्णय मान्ने बताएका छन् । उनले निर्वाचनको पक्ष र विपक्ष दुवैमा आफु सहमत हुने बताए । उनले निर्वाचनको मतगणना गरी पाउँ भनि उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका छन् । उनको रिट निवेदन लगाउमा राखेर हेर्ने भएको छ ।

थप सम्बन्धित समाचारहरु

 

तपाईको प्रतिक्रिया