उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा ९ राजनीतिक दलले पुनः निर्वाचनको पक्षमा आफ्नो राय दिएका छन् । निर्वाचन आयोगले त्रियुगा नगरपालिका १२ मा गत बैशाख ३० गते भएको निर्वाचनमा विवादले अवरुद्ध भएको मतदान बारे स्थलगत अध्ययन गरी मुख्य निर्वाचन अधिकृतलाई आवश्यक निर्देशन दिन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय टोलीसँगको छलफलमा ९ राजनीतिक दलले पुनः निर्वाचनको पक्षमा उभिएको थियो ।
पुनः निर्वाचनको पक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल (कमल थापा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, सचेत पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी, मौलिक जरोकिलो पार्टी लगायत रहेका छन् ।
पुनः मतदानको पक्षमा नेपाली काँग्रेसका उपमेयरका उम्मेदबार सरिता राई पनि रहेका छन् ।
नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला सचिव किरण राईले मतदान गर्न पाउनु पर्ने सवैको नैसर्गिक अधिकार भएकोले कसैले पनि मतदानबाट बञ्चित गराउनु हुँदैन भन्ने हाम्रो धारणा रहेको बताए ।
यस्तै पुनः मतदानको पक्षमा स्वतन्त्रबाट मेयरका उम्मेदबार अम्विका कुमारी रेग्मी, उपमेयरका उम्मेदबार रामकिशन सदा, राजन ढकाल लगायत रहेका छन् ।
यस्तै स्वतन्त्रबाट मेयरका उम्मेदबार बनेका चित्र कुमार कार्कीले बहुमतको निर्णय मान्ने बताएका छन् । उनले निर्वाचनको पक्ष र विपक्ष दुवैमा आफु सहमत हुने बताए । उनले निर्वाचनको मतगणना गरी पाउँ भनि उच्च अदालत विराटनगरमा मुद्धा दिएको छ ।
यता पुनः मतदानको विपक्षमा नेकपा एमालेबाट मेयरका उम्मेदबार भागवत राउत, उपमेयर महेश्वरी राई र नेपाली काँग्रेसका मेयर बसन्त बस्नेत रहेका छन् । यस्तै स्वतन्त्रबाट उपमेयर उठेकी सवित्रा थापाले चुनावको विपक्षमा उभिएकी छिन् । उनले चुनाव गराउनु हुँदैन भन्ने पक्षमा आफ्नो मत जाहेर गरेको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसको निकास चाँडै नै निकाल्ने आश्वास दिएर फर्किएका छन् । निर्वाचन आयुक्त भण्डारीले राजनीतिक दल सहित सुरक्षा निकाय प्रमुखहरु, त्यस मतदान केन्द्रमा खटिएका कर्मचारीहरुसँग पनि छलफल गरेको बुझिएको छ ।वर्षातको कारण र असहज परिस्थितले मतदान प्रक्रिया रोकिन गएको भन्दै बैशाख ३० गते ४ः३० बजे एक सूचना टाँस गरी मतदान स्थगित गरेको थियो । पुनः मतदान हुने सूचना यसै ठाउँमा पछि प्रकाशन गरिनेछ भनि सूचना प्रकाशन गरिएको छ । यसरी सूचना टाँस गरी स्थगित गरिएको निर्वाचन प्रक्रिया निर्वाचन ऐन अनुसार पुनः मतदान गर्ने स्पष्ट व्यवस्था रहेको छ । निर्वाचन ऐनको दफा ४० र निर्देशिका दफा १०८ बमोजिम कार्य गर्न सकिने भनि ९ राजनीतिक दल लगायतले निर्वाचनको माग गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं. १२ का सयौं मतदाताहरु तोकिएको समयभित्र लाइनमा बसेर पनि मतदान अधिकृतहरुको लापरबाहीले आफुहरु मतदान गर्नबाट बञ्चित भएको मतदाता सुनिता चौधरीको आरोप रहेको छ । उनका अनुसार मैले दुई घण्टा लाइनमा बसेपनि अन्तिम समयमा मेरो पालो आयो, परिचय पत्र चेकजाँच गरी मतदाता हो कि होइन भनेर पुष्टी गरेर मैले औठा छाप लगाए, मेरो नङमा कर्मचारीले मसि पनि लगाई दिए तर मतपत्र मलाई दिइएन् । उनका अनुसार मैले मेरो मतदान गर्ने अधिकारबाट बञ्चित भएको बताईन् ।
यस्तै सवै प्रक्रिया पुरा गरेर मतदान गर्नबाट गंगा राई पनि बञ्चित भईन् । उनका अनुसार नङमा मसि लगाएर कर्मचारीले यता पठयो, मतपत्र लिने ठाउँमा सहि छाप लगाए तर मतपत्र पाइन् ।
यस्तै मतदानमा सहभागी हुन नदिएको भन्दै शुक्रबार दुई सय बढीले निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले पुनः मतदान गरी आफूहरुलाई मतदानबाट बञ्चित नगराउन माग गरेको छ ।
भिडियो लिंकको लागि तल क्लिक गर्नुहोस् ।
त्रियुगा नपा १२ मा मतदान गर्नबाट बञ्चित मतदाताको आक्रोश, पुनः मतदानको माग