उदयपुर । यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ । चैत ६ गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षामा २६ केन्द्रमा ५ हजार ९ सय ९० परीक्षार्थी सामेल हुने छन् । जसमा छात्र २ हजार ७ सय ९७ परीक्षार्थी र ३ हजार १ सय ९३ छात्रा रहेका छन् ।
यो वर्ष जनता मावि देउरीमा नारद आदर्श मावि बसहा, त्रियुगा मावि गाईघाट र त्रिवेणी मावि कटारीको प्राविधिक तर्फको विद्यार्थीहरु सहभागी हुने छन् । यस वर्ष महिला मैत्री परीक्षा केन्द्र नभएको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत अर्जुन कार्कीले जानकारी दिए । उनका अनुसार यस वर्ष रेगुलर तर्फ ५ हजार ६ सय २५ परीक्षार्थी र गे्रड वृद्धि परीक्षाको लागि ३ सय ६५ परीक्षार्थी सहभागी हुँदैछ । परीक्षाको लागि ६ हजार ३८ ले परीक्षा फारम भरेपनि ४८ जनाको फारम अस्वीकृत भएको थियो ।
२६ परीक्षा केन्द्र मध्ये सवै विद्यालयको गे्रेड वृद्धिको लागि फारम भर्ने परीक्षार्थीको परीक्षा केन्द्र अम्बेवर जनता मावि राजावास कायम गरिएको छ भने २५ केन्द्र नियमित परीक्षार्थीको लागि कायम गरिएको छ ।
यस्तै नियमित तर्फ बेलका नगरपालिकामा ३ परीक्षा केन्द्र, चौदण्डीगढी नगरपालिकामा ४ परीक्षा केन्द्र, त्रियुगा नगरपालिकामा १० परीक्षा केन्द्र, कटारी नगरपालिकामा ४ परीक्षा केन्द्र, उदयपुरगढी गाउँपालिकामा २ परीक्षा केन्द्र रहेका छन् भने लिम्चुङबुङ, रौता र ताप्ली गाउँपालिकामा १÷१ वटा परीक्षा केन्द्र रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जानकारी दिइएको छ । परीक्षामा निजी तथा सरकारी गरी १ सय ४८ वटा विद्यालयका परिक्षार्थी सहभागी हुँदैछन् ।
सबै परीक्षा केन्द्रको लागि आबश्यक पर्ने प्रश्नपत्र, कापी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र सुरक्षा कर्मी समेत तोकेर सम्बन्धित केन्द्रमा पठाई सकिएको शाखा अधिकृत कार्कीले बताए ।

तपाईको प्रतिक्रिया