उदयपुर । उदयपुरमा आधारभूत विद्यालय तह उत्तीर्ण (नगर स्तरीय) परीक्षाको तयारी पुरा भएको छ । त्रियुगा नगरपालिका अन्तर्गत कक्षा ८ को नगर स्तरीय परीक्षामा १४ वटा सेन्टर कायम गर्दै चैत्र २ गतेबाट परीक्षा संचालन गर्ने गरी तयारी पुरा भएको नगर शिक्षा इकाईले जानकारी दिइएको छ ।
त्रियुगा नगरपालिका अन्तर्गत २५ निजी र ३९ सामुदायिक विद्यालय गरी ६४ वटा विद्यालयका विद्यार्थीहरु आधारभूत विद्यालय तहको परीक्षामा सहभागी हुने छन् ।परीक्षा चैत्र २ गते अनिवार्य अँग्रेजी, ३ गते नेपाली, ४ गते गणित, ५ गते विज्ञान तथा वातावरण शिक्षा, ६ गते सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा, ७ गते पेशा, व्यवसाय तथा प्रविधि शिक्षा, ८ गते ऐक्षिक कम्प्युटर÷संगीत तथा अन्य, ९ गते स्वास्थ्य तथा शारीरिक शिक्षा र नैतिक शिक्षाको परीक्षा हुने छन् । परीक्षा दिउँसो १ बजेदेखि ३ः१५ बजेसम्म हुनेछ ।
परीक्षामा ६ सय ५० विद्यार्थी निजीबाट र १ हजार ४ सय २० विद्यार्थी सामुदायिकबाट गरी २ हजार ७० विद्यार्थी परीक्षामा सामेल हुने त्रियुगा नगर शिक्षा शाखा प्रमुख एक बहादुर राउतले जानकारी दिए ।
उनका अनुसार जनता आधारभूत विद्यालय मोथियाहीमा ४ वटा विद्यायको सेन्टर कायम भएको छ भने सत्य देवी माध्यमिक विद्यालय भुल्केमा ५ वटा विद्यालयको सेन्टर कायम भएको छ । यस्तै रामजानकी माध्यमिक विद्यालय मोतिगडामा ३ वटा विद्यालयको सेन्टर कायम भएको छ भने शिवशक्ति आधारभूत विद्यालय बगाहामा ४ वटा विद्यालयको सेन्टर कायम भएको छ ।
राष्ट्रिय माध्यमिक विद्यालय बगहामा ४ वटा विद्यालय, जनता माध्यमिक विद्यालय देउरीमा ५ वटा विद्यालय, पञ्चावती आधारभूत विद्यालय बुर्जाकान्लामा २ वटा विद्यालयको सेन्टर कायम भएको छ ।
यस्तै जनज्योति मावि चुहाडेमा ७ वटा विद्यालय, बालमन्दिर मावि बोक्सेमा ६ वटा र त्रियुगा मावि गाईघाटमा ५ वटा विद्यालयको सेन्टर कायम भएको छ । लक्ष्मीपुर मावि पोर्ताहामा ८ वटा, मावि साउनेमा २ वटा विद्यालय, जनता मावि रानीबासमा ६ वटा र मावि भोर्ले चिलाउनेमा ३ वटा विद्यालयको सेन्टर कायम भएको छ ।
उनका अनुसार परीक्षामा सवैभन्दा कम ४५ विद्यार्थी मावि साउनेको परीक्षा केन्द्रमा विद्यार्थी सामेल हुने छन् भने सवै भन्दा बढी २ सय ७८ विद्यार्थी बाल मन्दिर माविको परीक्षा केन्द्रमा सामेल हुने छन् ।
कक्षा ८ को नगर स्तरीय परीक्षा लिइएको यो तेस्रो पटक भएको त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष तथा सामाजिक विकास संयोजक मान बहादुर राईले जानकारी दिए । उनका अनुसार कक्षा ८ को नगर स्तरीय परीक्षालाई एसइई परीक्षा पूर्वको पहिलो खुडकिलोको रुपमा हेरिएको बताए । त्रियुगा नगरपालिकाका मेयर, उपमेयर, जिल्ला शिक्षा इकाई समन्वय समिति प्रमुख, नगर शिक्षा प्रमुख तथा कर्मचारी, प्याब्सन, एनप्याब्सन लगायतको छुट्टाछुट्टै अनुगमन समिति पनि निर्माण गरिएको सामाजिक विकास संयोजक राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया