उदयपुर । उदयपुरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूर्व तयारी परीक्षा शुरु भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) उदयपुरले एसइई प्रि–बोर्ड परीक्षा आइतबारबाट संचालन गरेको छ ।विद्यार्थीको क्षमता जाँच गर्न र कमजोरी पत्ता लगाई सुधारको मौका दिनका लागि केन्द्रिय स्तरदेखि जिल्ला स्तरसम्म एनप्याब्सनले पूर्व तयारी परीक्षा संचालन गरेको एनप्याव्सन उदयपुरका अध्यक्ष सुमन कुमार चौधरीले बताए । “यो नमुना परीक्षा हो, जसरी सरकारले नमुना निर्वाचन गराउँछ त्यसरी नै हामीले नमुना परीक्षा सञ्चालन गरेका हौं ।”, अध्यक्ष चौधरीले भने, “एन प्याब्सन केन्द्रिय सर्कुलर बमोजिम उदयपुरले जिल्लास्तरीय परीक्षा सरह सेन्टरको व्यवस्था गरी परीक्षा संचालन गरेका छौं । प्रश्न पत्र र कापी सवै केन्द्रबाट आएकोले सोही अनुसारको परीक्षा संचालन गरिरहेका छौं ।”
एन प्याब्सन उदयपुरका कोषाध्यक्ष नवराज सिंह ठकुरीले पनि सेन्ट अप परीक्षा नभर्ई एसइईको तयारी स्वरुप परीक्षा लिइरहेको बताए । विद्यार्थीको भविष्यका लागि परीक्षा लिईरहेको उल्लेख गर्दै एसइई परीक्षाको अनुत्तीर्ण प्रतिशत घटाउने उद्देश्यले परीक्षा सञ्चालन गरेको कोषाध्यक्ष ठकुरीले बताए ।
शुल्क लिएर परीक्षा गरेको सन्दर्भमा कोषाध्यक्ष ठकुरीले परीक्षा व्यवस्थापनका लागि केही शुल्क उठाएको स्वीकार गर्दै त्यसलाई अन्यथा लिन नहुने बताए । “परीक्षा भन्ने वित्तिकै प्रश्नपत्र तयार गर्नु पर्यो” – कोषाध्यक्ष ठकुरीले भने, “ परीक्षा संचालन, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, गार्ड लगायत उत्तरपुस्तिका परीक्षण लगायतको खर्च व्यवस्थापनका लागि न्यून शुल्क लिइएको हो ।”
एसइई प्रि–बोर्ड परीक्षा एनप्याब्सन निकट ४ वटा विद्यालयका १०१ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षामा व्रिलियन्ट एकेडेमी चुहाडे, क्रिमशन एकेडेमी सालघारी बगहा, उदयपुर मनकामना इंग्लिस बोर्डिङ स्कूल पुरानो गाईघाट रहेका छन् भने उदयपुर इंगलिस बोर्डिङ स्कूल गाईघाटका विद्यार्थीहरु होम सेन्टर परेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन भईरहेको छ । परीक्षा ८ दिनसम्म चल्ने छ ।
परीक्षा केन्द्रको केन्द्राध्यक्षमा ईश्वर काफ्ले र सहायक केन्द्राध्यक्षमा बाबुराम कार्कीलाई जिम्मेबारी दिइएको एनप्याब्सन अध्यक्ष चौधरीले जानकारी दिए ।
यस्तै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने सूचना प्रकाशित गरेको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया