उदयपुर । उदयपुरको कटारी नगरपालिका ३ च्याँगाको चुरिया आधारभुत विद्यालय परिषरमा रहेको नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एक कार्यक्रमको विच नवनिर्मित मन्दिरको उद्घाटन गरेका हुन् ।कटारी नगरपालिका ३ नं. वडा कार्यालयबाट विनियोजित ३ लाख सहयोग र १५ हजार जनश्रमदानमा नवनिर्मित सरसस्वती मन्दिरको उद्घाटन गर्दै मेयर श्रेष्ठले शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नदिन आफु शिक्षाको विकासमा लागि परेको बताए । मेयर श्रेष्ठका अनुसार एक वर्षको लगानी गर्ने हो भने खाद्यन्न बालीमा लगानी गर्नुस्, १० वर्षको लागि लगानी गर्ने हो भने रुख विरुवामा लगानी गर्नुस् र सयौं वर्षको लागि लगानी गर्ने हो भने शिक्षामा लगानी गर्नुस् चिनिया उखानबाट प्रेरित भएर नगरपालिकाले शिक्षाको विकासमा कुनै कसर बाँकी नराख्ने बताए । उनका अनुसार शिक्षामा लगानी हाम्रो नगरको सन्ततीको उज्वल भविष्यको लागि भएको बताए । मेयर श्रेष्ठले विद्यालयको जस्ता परिवर्तन गर्ने पनि प्रतिवद्धता समेत जनाएका थिए ।
यस वडाका लागि गत वर्ष विभिन्न योजना ल्याएको बताउँदै च्याँगा गाउँमा कालोपत्रे सडक निर्माण गर्ने नगरको योजना रहेको मेयर श्रेष्ठले बताए । उनले वडाको भित्रि सडकमध्ये च्याँगामा सडक कालोपत्रे गर्ने बताए ।
कटारी नगरपालिका ३ का वडाध्यक्ष रामबहादुर पोखरेलले विद्यालय प्राङ्गणलाई धुलो रहित बनाउने योजना रहेको बताए ।
त्यसैगरी पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु मगरले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा जोड दिँदै यसका लागि कर्मचारी तथा जनप्रतिनिधि जिम्मेवार हुनु पर्ने बताए । उनले नमुना विद्यालय घोषणा गर्ने प्रकृया अघि बढेको सुनेको बताउँदै नमुना घोषणा गरेर मात्रै नहुने र त्यसका लागि शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक रहेको बताए । विद्यालयका प्रधानाध्यापक मित्रलाल श्रेष्ठले मन्दिर निर्माणमा सहयोग पुराउने सबैलाई धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया