राजेन्द्र महतो, लहान । बालमैत्री वातावरणमा अध्ययन गराउन सरकारले निर्देशिका बनाएपनि कतिपय विद्यालयमा अझै पनि बालबालिकाहरुलाई कुटेरै पढाउने गरिएको छ । जसका कारण बालबालिका घाइते भईरहेका समाचारहरु बारम्बार सार्वजनिक भईरहेका छन् । सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालाका एक शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचिएको छ । कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका २ घर भई सोही विद्यालयको होस्टेलमा बस्दै आएका १४ वर्षिय बालक ऋतिक यादवलाई शिक्षकको कुटाईबाट हात भाँचिदिएको छ ।
नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै लट्टीले कुट्दा उनको हात भाँचिएको बालकका बुवा बसन्त यादवले बताएका छन् । ‘तारा सरले घोकेर आउन भन्नुभएको थियो, “केहि घोक्न सकिएन, त्यसपछि उहाँले कुटनु भयो” बालक ऋतिकले भने ।
ऋतिक पछिल्लो ६ बर्षदेखि त्यही विद्यालयको होस्टेलमा बसेर पढ्दै आएका थिए । ऋतिकका पिता बसन्तले आफ्ना छोरालाई कुट्ने शिक्षक बिरुद्व सोमबार प्रहरीमा जाहेरी दिने बताएका छ्न । उनको हात भाँचिएपछि अभिभावकले उपचार गराउँदै आईतबार घर लगेका छन् ।
गृहकार्य नगरेकै कारण बालकलाई कुटेर हात भाँचिदिएको सम्बन्धमा उक्त पाठशालाका संस्थापक प्रिन्सिपल महेश कार्कीसँग सम्पर्क गर्न खोज्दा उनले फोन रिसिभ गरेनन् । बारम्बार उनको मोवाइलमा फोन गर्दा समेत उनले फोन रिसिभ गरेनन् ।
यस पाठशालामा २०७४ सालमा यूूकेजीमा अध्ययन गरिरहेका सिरहाको औरही गाउँपालिका ४ कमलपुरका जिबछ साहको छोरा दीपक साहलाई पाठशालाका शिक्षकले कुट्दा उनको हात भाँचिएको थियो ।
शिक्षकले कुटेर हात भाँचिदिएपछि दीपकका बुवा जिबछ साहले त्यहाँबाट आफ्ना छोरालाई निकालेर अर्काे विद्यालयमा लगेका थिए ।

तपाईको प्रतिक्रिया