उदयपुर । थारु सिंगिङ स्टारको प्रथम संस्करणको उदयपुरमा भएको अडिशनमा १४ जना छनौट भएको छ । शनिबार गाईघाटमा भएको अडिशनमा १४ जना छनौट गरिएको आयोजक संस्थाले जानकारी दिइएको छ ।
थारु सिंगिङ स्टारको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले थारु प्रतिभा पहिचानको माध्यम भएकोले यस कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए ।
कार्यक्रमलाई निरन्तरता दिनको लागि त्रियुगा नगरपालिकाले जुनसुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आधुनिक गीत मात्र होइन थारुको पौराणिक गीतहरुको पनि पहिचान गरी संरक्षण गर्न आवश्यक रहेको बताए । उनले कला क्षेत्रमा सवै भन्दा बढी थारुको नै पौराणिक गीतहरु धुमरा नाच, विरहैन, चाँचैर, फगुवा, समाचकेवा लगायतको बाह्र माहिनामा गाईने गीतहरु भएकोले यसको संरक्षणमा विवेकशील थारु युवा समूहको पनि ध्यान जानु पर्ने बताए । उनले थारु समुदायमा भएको प्रतिभाहरुलाई बचाई राख्न यस नगरपालिकाले सक्दो शेयर गर्ने बताए । उनले त्रियुगा नगरपालिकामा भएका थारु समुदायको जितिया पर्व बगहाको जीतमहान मन्दिरमा भए समाचकेवा अर्को ठाउँमा र माघी महोत्सव अर्को ठाउँमा राख्नु पर्ने बताए । तर, केही वर्षदेखि जितिया, समाचकेवा, माघी पर्व एक ठाउँमा होइन गाउँ गाउँमा गर्ने गरेकोले यस कार्यक्रमहरुलाई एकिकृत गरेर नगरमा एकै ठाउँमा संचालन गर्नु पर्ने उपमेयर चौधरीले बताईन् । 
यस्थै त्रियुगा नगरपालिका १ नं. वडाध्यक्ष मनोज कुमार चौधरी, ३ नं. वडाध्यक्ष अवधेश प्रसाद चौधरीले पनि कार्यक्रमको सफलताको शुभकामना दिँदै अवका दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यस्तै थारु कल्याणकारिणी सभा उदयपुरका सभापति शिवकान्त चौधरी, थारु कला केन्द्रका जनल लेखी लगायतले थारु समुदायमा रहेको गायन प्रतिभालाई पहिचान गर्न लागेको संस्थालाई धन्यवाद दिएका थिए ।
कार्यक्रम प्रदेश १ अन्तर्गत बसोबास गर्ने थारु गायन प्रतिभा भएका युवाहरुलाई लक्षित गरी सिंगिङ स्टारको आयोजना गरिएको संस्थाका सचिव वीरबल गच्छदारले जानकारी दिएका थिए । माघ १४ गते झुम्का, १८ गते मोरङको नेता चोक, २४ गते विर्तामोड र २६ गते दुहवीमा अडिसन कार्यक्रम रहेको संस्थाको सचिव गच्छदारले बताए । उनका अनुसार कार्यक्रमले थारु समुदायमा लुकेर रहेका थारु गायन प्रतिभालाई पहिचान गरी उजागर गरि प्रोत्सहान गरिने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । सिंगिङ स्टारका विजेता तथा उपविजेतालाई नगद, ताज सहित थारु तथा नेपाली गीत गाउनमा चान्स दिइने सचिव गच्छदारले बताए । 
प्रतियोगिताको लागि अडिशन शोहरुमा निर्णायक भूमिकामा गायक तथा संगीतकार विभास चौधरी, गायक आर.सी. चौधरी, प्रकाश माझी, गीता चौधरी, सुनिल माझी र प्रज्वलदिप विश्वास रहने छन् । अडिशनमा छनौट भएका प्रतिभाहरुलाई अन्य चरणको लागि पछि सम्पर्क गरिने कार्यक्रम निर्देशक प्रज्वलदिप विश्वासले जानकारी दिए ।
गायन कलालाई मर्यादित बनाउँदै व्यवसायीक वनाउन पहल गर्दै अग्रज व्यक्तिहरुको समानसंगै नयाँ पुस्तालाई अवसर प्रदान गरी कलाकारहरुका लागि संस्थागत विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । अडिशनमा सरोज चौधरी, राम चौधरी, विनोद चौधरी, रुपा चौधरी लगायत १४ जना छनौट भएको आयोजकले जनाएको छ ।
अडिशन शोबाट छनौट भएका प्रतियोगिहरुलाई पहिलो, दोस्रो गर्दै पाँचौं चरण हुँदै पाइनल चरणमा तीन जना प्रतियोगि छनौट गरिने छ । छनौटमा परेका प्रतियोगिताबाट नै थारु सिंगिङ स्टारको ताज पहिरिने छ ।
कार्यक्रमको अध्यक्षता अजय चौधरीले गरेका थिए भने संचालन दुर्गानन्द (डिएन) चौधरीले गरेका थिए ।

















