उदयपुर । पुस १९ गतेदेखि उयदपुरको गाईघाटमा हुने किरात राई सांस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलनलाई आफ्नो कला, गला र क्षमताबाट स्थापित लोकप्रीय र चर्चित राष्ट्रिय कलाकारहरुले विशेष प्रस्तुती दिने भएका छन् । नायक दयाहाङ राई, गायक सम्भु राई, जितेन राई, भिषन मुकारु, रेवत राई, गायीकाहरु पार्वती राई, सत्यकला राई, सुशिला राई लगायतको विशेष प्रस्तुती रहने जनाइएको छ । तयारीमा खटिरहनु भएका संघका महासचिव राई नविनले स्थापित कलाकारहरुबाट सम्मेलनलाई पूर्ण साथ, सहयोग मिलेको बताउनुभयो ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरी लोकप्रीय कलाकारहरुको प्रस्तुतीका साथै सम्मेलनको अन्तिम तयारी बारे जानकारी दिइएको छ । “हामी बेलैमा तयारीमा जुटेकाले, सम्मेलनको अन्तिम तयारी पनि पुरा भईसकेको छ ।” व्यवस्थापन समितिका संयोजक तथा संघका उदयपुर अध्यक्ष डिवि राईले भने ।
सम्मेलनलाई भब्य र सभ्यरुपले सम्पन्न गराउन व्यवस्थापन लगायतका सबै खाले तयारी रहेको जनाइएको छ । देशैभरका किराँत राई कलाकारहरुको प्रतिनिधित्व रहने सम्मेलन तीनदिनसम्म सञ्चालन रहने छ । संघका सचिव रोसन राईका अनुसार पहिलो दिन उद्घाटनपछि बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रले नयाँ कार्यसमितिको चयन गर्नेछ ।
सम्मेलनको तयारीको सहयोगमा जुटिरहनु भएका किराँत राई यायोक्खा उदयपुरका अध्यक्ष बलधन राईले सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न गराउन लागी परेको बताए । उहाँले सम्मेलनलाई ऐतिहासिकरुपमा सफल बनाउन सबैले साथ सहयोग दिन पनि आग्रह गरेका थिए ।









