उदयपुर । वर्षौदेखि जीर्ण र धुल्लामे सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी–घुर्मी सडक खण्ड ७२ किलोमिटरको स्तरोन्नतीका लागि सरोकारवालाहरुको टोली मन्त्रालयमा डेलिगेसन दिन पुगेका छन् । डेलिगेसन गएको टोलीले सोमबार भौतिक योजना तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्ग र अर्थ मन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएको छ ।
उदयपुर, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाहरुका जनताको प्रत्यक्ष दैनिक आपूर्तिसँग जोडिएको सडकको स्तरोन्नती गर्नका लागि मन्त्रालयका मन्त्रीहरु समक्ष माग गरिएको छ । उदयपुर निर्वाचन क्षेत्र २ का सांसद सुरेशकुमार राई (हिमाल) नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री नेम्वाङलाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएको हो ।
लोकमार्गको मिर्चैया–कटारी–घुर्मी खण्डको जिर्ण सडक स्तरोन्नति गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराउन प्रतिनिधिमण्डल जान सातादिनअघि कटारीमा सरोकरवालाको बृहत भेला बसेर सांसद राईको संयोजकत्वमा ४५ सदस्यीय समिति गठन गरेको थियो । सोही निर्णयअनुसार सांसद राईको टोलीले सडक स्तरोन्नति माग गर्दै ज्ञापनपत्र बुझाएको हो । उदयपुर, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाबासी जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सिद्धिचरण लोकमार्ग वर्षेनी मर्मतसम्भार गर्ने गरिए पनि ३÷४ महिनाभित्र जस्ताको तस्तै धुले सडकमा परिणत हुने भएकाले वर्षेनी दुर्घटना भएर जनधनको क्षति हुँदै आएको छ ।
माथिल्लो सगरमाथाको द्वार मानिने कटारी हुँदै खोटाङ, ओखलढुंगा र सोलुखुम्बुतर्फ उपभोग्य सामग्री भित्र्याउने एक मात्र सडक सिद्धिचरण लोकमार्ग हो। तर, साँघुरो र सँधै बिग्रने भत्कने सडकमा पटकपटक दुर्घटना हुने तथा वर्षायाममा हिलो र पहिरो तथा हिउँदमा धुलोधुँवाले यातायात सञ्चालनमा धेरै समस्या हुने गरेको छ । सडकको तत्काल स्तरोन्नति गर्न बजेटको माग गर्दै मन्त्री नेम्वाङको ध्यानाकर्षण गराइएको सांसद राईले बताए । ज्ञापनपत्र पेश गर्दै सांसद राईले आफ्नो निर्वाचन क्षेत्र मात्र नभएर सो सडक आधा दर्जन जिल्लाबासीको प्रत्यक्ष दैनिकी जोडिएको विषय भएकाले तत्काल माग संबोधन गर्न आग्रह गरे ।
उनले मिर्चैयादेखि कटारी हुँदै ओखलढुंगाको सिमाना सुनकोसी घुर्मीसम्म ७२ किलोमिटर सडक तत्काल अर्को योजना खडा गरेर स्तरोन्नति मर्मत गर्न माग गरेको बताएका छन् ।
प्रतिनिधिमण्डलले सोमबारै अर्थमन्त्री युवराज खतिवडालाई पनि सोही व्यहोराको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । मन्त्री खतिवडाले चालु वर्षको रकम बाँडफाँड भईसकेकाले आगामी वर्षको बजेटमा रकम विनियोजन गरिदिने आश्वासन दिएको सांसद राईले बताए ।
चुनढुंगा ढुवानीको लागि वैकल्पिक सडक बनाउन माग
सिराहाको चन्द्रोदयपुरमा सञ्चालित मारुती सिमेन्ट कारखानाको चुनढुंगा ओसार्ने हजारौ अधिक भारवहनका टिप्पर सञ्चालन हुने भएकाले सो सडक जति मर्मत गरे पनि केही महिनाभित्रै जिर्ण भईहाल्ने भएकाले दीर्घकालीन उपाय अपनाउन मन्त्रीसँग माग गरेको उनले बताए । रातदिन टिप्पर गुडेर हैरान पार्ने हुनाले सडकको अवस्था जहिल्यै जिर्ण हुने हुँदा नगरबासीले पटक पटक टिप्पर कुदाउने बैकल्पिक मार्ग बनाउन माग गर्दै आन्दोलन र चक्काजामसमेत गर्दै आएका छन् ।
कटारी नगरपालिका ८ को पट्नाभन्ज्याङस्थित चुनढुंगा खानी र सिन्धुलीको ककरुठाकुरस्थित अर्को खानीबाट चुनढुंगा बोक्ने सयौं मारुतीका टिप्पर रातदिन आउजाउ गर्दा सडक बिग्रने गरेको स्थनीय बताउँछन् । मिर्चया नाका हुँदै खोटाङको त्रिधार्मिकस्थल हलेसी जाने भक्तजनको संख्या पनि बाक्लो हुने हुँदा जिर्ण र साँघुरो सडकमा दुर्घटना हुने गरेको प्रतिनिधिमण्डलको भनाई छ ।
टिप्पर र भक्तजन सवार बाक्लो सवारीसाधन दैनिक आउजाउ हुने सडकमा हुने सानाठूला दुर्घटनाले जनधनको क्षति भईरहेको भन्दै ज्ञापनपत्रमा मिर्चैया–कटारी–घुर्मी खण्डको स्तरोन्नति गर्न साविक सडक मर्मतसँगै छुट्टै सडक बनाउनुपर्ने माग पनि प्रतिनिधिमण्डलले गरेको छ । साविक सडक स्तरोन्नति गरी टिप्पर चलाउने या बैकल्पिक सडक बनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने विषय पनि छलफल हुनुपर्ने सुझाव मागपत्रमा छ ।
सो सडकलाई अत्याधिक उपयोग गर्ने मारुती, कसमस र सौर्य सिमेन्ट उद्योगहरुका लागि छुट्टै औधोगिक सडक बनाएर सिद्धिचरण लोकमार्गबाट अलग गर्न सकिने उपाय पनि ज्ञापनपत्रमा सुझाइएको छ । सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी–घुर्मी खण्डको स्तरोन्नति गर्नका लागि एसियाली विकास बैक (एडिबी) ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत गरिसकेको सुनेकाले त्यो सही भए तत्काल बजेट व्यवस्था गरेर प्राथमिक्ताका साथ काम अघि बढाउन पनि मन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
प्रतिनिधिमण्डलबाट ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्बाङले सडक स्तरोन्नति गर्न सरकार तयार रहेको जवाफ दिएको सांसद राईले बताए । मन्त्री नेम्बाङले सडक स्तरोन्नति गर्ने वा बैकल्पिक सडक बनाउने भन्ने विषयमा अध्ययन गर्न आगामी आर्थिक वर्ष छुट्टै कार्यालय स्थापना गरी बहुवर्षीय ठेक्का लगाएर काम अघि बढाउने बताएको पनि राईले बताए । ‘हाम्रो प्रतिनिधिमण्डको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्बाङले छिट्टै माग सम्बोधन गर्ने आश्वासन दिनुभएको छ’ सांसद राईले भने ‘आसा छ, जिर्ण सडकको छिट्टै स्तरोन्नति हुनेछ । यसमा मन्त्रीज्यू गम्भीर भएको पाइयो ।’
सम्बन्धित सामाचार
अवरुद्ध सिद्धिचरण राजमार्ग खुल्यो
सिद्धिचरण राजमार्गमा अलपत्र सवारी साधन गन्तव्य तिर
सिद्धिचरण राजमार्गमा १ सय ६० सवारी साधन विच बाटो मै अलपत्र (१० तस्विरसहित)
सिद्धिचरण राजमार्गको यात्रा जोखिमपूर्ण
मारुती, कसमस र सौर्य सिमेन्टको चुनढंगा ढुवानी गर्ने टिप्पर वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने









