
उदयपुर । असारको अन्तिम साता पानीसँगै गएको पहिरोले सिद्धिचरण राजमार्गको माथिल्लो खण्डमा अलपत्र सवारी साधन गन्तव्य तिर लागेका छन् । ठाँटी भन्ज्याङ देखि घुर्मी सम्म करिव दुई दर्जन ठाउँको पहिरो पन्छाएपछि अलपत्र परेका १ सय ६० वटा सवारी साधन गन्तव्य तिर लगोका छन् ।
सगरमाथा क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको सिद्धिचरण राजमार्ग पहिरोले सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु जाने र काठमाडौं लगायत तराईका जिल्ला आउने जाने सवारी साधन अलपत्र परेका थिए ।
उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलाको पहिरो पन्छाएपछि घुर्मीमा फसेका १ सय १७ सवारी साधन आगमन गन्तव्य तिर गएका थिए । यस्तै घुर्मीदेखि ठाटी भन्ज्याङसम्म लगातार ३२–३३ घण्टासम्म स्काइभेटर लगाएर अलपत्र सवारी साधनलाई गन्तव्य तिर पठाएको घुर्मी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज कटक बहादुर खड्काले बताए । उनका अनुसार घुर्मीदेखि ठाटी भन्ज्याङसम्म अलपत्र परेका ३४ वटा यात्रु बहाक सवारी साधन तथा माल बहाक ट्रकहरु गन्तव्य तिर पठाएपनि अझै सिधा यातायात संचालनमा आउन सकेको छैन् । ठाँटीभन्ज्याङमा करिव २ सय मिटर सडक नै बगेको छ । पहिरोले रोड नै बगाएर लगेपछि नयाँ ट्रयाक बनाउनु पर्ने भएको छ ।
ठाँटी भन्ज्याङ सुचारु हुन एक साता लाग्ने
सडक डिभिजन लहानका प्रमुख विनोद शाहले पहिरोले गर्दा ठाँटी भन्ज्याङमा सडक २ सय पुरै भत्किएको अवस्था रहेकाले हाइट कटिंङ गरेर बेस बनाएर बाटो खोल्ने प्रयास जारी रहेको बताए । उनका अनुसार मिर्चैयादेखि कटारी हुँदै बेतिनीसम्मको खण्डमा भत्केको सबै पहिरो पन्छाउने काम सकिदै गएको बताए । तर, ठाँटीनजिकै झण्डै अढाई ३ सय मिटर चौडाई सडकको जगसहित पहिरोले भत्काएका कारण तत्काल सडक सुचारु हुन नसक्ने उनको भनाई छ । उनका अनुसार सो खण्डमा मर्मत गर्ने ठाउँ नै नराखी पहिरो गएकाले वैकल्पिक ट्रयाक खोल्नु पर्ने बाध्यता छ । विगत वर्षहरुमा लोकमार्गकै सबभन्दा अप्ठ्यारो ठाउँ कटारी ११ स्थित ठाँटी भन्ज्याङ थियो तर, यो वर्षाले त्यो भन्दा अप्ठ्यारो त्यसको १ सय मिटर वर (कटारीतर्फ) को लप्सेभीर सावित भएको साहले बताए । उनका अनुसार सडक सुचारु हुन एक साता लाग्ने बताएका छन् ।
तराईका जिल्ला जोड्ने सिद्धिचरण र मध्यपहाडी राजमार्गमा पहिरो खसेपछि खाद्यन्न र पेट्रोलियम पदार्थको ढुवानी समेत चरम अभाव भएको छ । यात्रुबाहक र मालबाहक गाडी नचलेपछि उपभोग्य वस्तु ढुवानीसँगै यात्रुलाई आवत जावत गर्न समस्या भएको छ । सडक अवरुद्ध भएको बहानामा व्यापारीहरुले उपभोग्य वस्तुमा भाउ बढाएका छन् ।
पेट्रोल पम्पमा पेट्रोल र डिजेल अभाव भएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका आन्तरिक सडकमा संचालन हुने यातायात समेत सुचारु हुन सकेका छैनन् ।
यो पनि पढ्नुस्









