काठमाडौँ । गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । सोमबार बिहान ८ बजे मेडिकल कलेज सञ्चालन गर्ने सबै विश्वविद्यालयक भीसी, डिन र अन्यपदाधिकारीसँग छलफल गरे । त्यसपछि दिउँसो १ बजे विद्यार्थी संगठनसँग र पौने २ बजे मेडिकल कलेजका सञ्चालकहरुसँग छलफल गरेको थियो ।
त्यसपछि गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो । अतिरिक्त शुल्क लिएर फिर्ता नगरेपछि देशैभरका चिकित्सा शिक्षाका विद्यार्थी अन्दोलित छन् ।
आइतबार पनि गृहमन्त्री थापा र शिक्षामन्त्री पोखरेलबीच शुल्क फिर्ता गराउने विषयमा छलफल भएको थियो । यसअघि गत असोज र कात्तिकमा गृहमन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीहरुसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसिमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । सरकारले दिएको १५ दिनको समयसिमा आइतबार सकिएको छ ।
गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेज विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको छ ।









