उदयपुर । रौतामाई ब्याड्मिन्टन क्लवको आयोजनामा सुकौरामा भएको ब्याड्मिन्टन प्रतियोगिताको शनिबार भएको फाईनल खेलमा मनोज खड्का र उद्धव राउतको जोडी प्रथम भएको छ । प्रतियोगितामा लक्षजंग ठकुरी र युवराज दाहालको जोडीले दोस्रो भएका छन् । त्यस्तै तेस्रो हुनेहरुमा किसन राई र भोटराज राईको जोडी तथा राजेश कार्की र लुमिनीराम कार्कीको जोडी रहेका छन् ।प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमहरुलाई क्रमश : दश, सात र पाँच हजार नगद पुरस्कारसहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजयी खेलाडीहरुलाई कार्यक्रमका विशेष अतिथि रौतामाई गापा वडा नं. २ का अध्यक्ष खविन्द्रबहादुर रास्कोटी, वडा नं. ८ का वडाध्यक्ष टेकबहादुर बलम्पाकी मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।
रौतामाई गाउँपालिकाको सहयोग रहेको अन्तर नगरपालिका तथा गाउँँपालिका व्याड्मिन्टन् बी डिभिजनको प्रतियोगिता भएको हो । नकआउट प्रणालीमा मेन्स डबल्स खेल भएको हो ।
प्रतियोगितामा सुकौरा, मुर्कुची, गाईघाट, जलजले, देउरी, राजाबास लगायतका खेलाडीहरुको सहभागिता थियो ।
पछिल्लो समय बढ्दो ब्याड्मिन्टनको क्रेज र नयाँ तथा प्रतिभा भएका नयाँ खेलाडीहरुलाई खेलको अवसर दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सौहाद्रपूर्ण ढंगले सञ्चालन भईरहेको आयोजक क्लवका अध्यक्ष उद्धव राउतले बताए ।
यस्तै बेल्टारमा एक ब्याडमिन्टन खेलाडीलाई खेल सामाग्री सहयोग गरिएको छ । बेल्टार व्याडमिन्टन ऐकेडेमीले आर्थिक अवस्था कमजोर भएका तथा राम्रो खेल सम्भावना र क्षमता भएका चौनपा ५ सुन्दरपुर घर भएका खेलाडी जयराम राईलाई सहयोग गरेको हो ।
उनलाई एक जोर जुत्ता, एक सेट जर्सी, एक सेट रेकेट, एक जोर निक्याप गरी आठ हजार पाँच सय ५० रुपैयाँ मुल्यको खेल सामग्री सहयोग प्रदान गरेको संस्थापक अध्यक्ष भेषबहादुर मगरले बताए ।
खेलाडीलाई चौदण्डिगढी नगरपालिका मेयर खगेन्द्र राई, पालिका खेलकुद अध्यक्ष शशिचन्द्र राई र ऐकेडेमीका अध्यक्ष मगरले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।
खेलप्रति रुचि भएका र क्षमता भएका व्यक्तिहरु आर्थिक अभावका कारण पछि नपरुन भनेर सानो सहयोग गरेको अध्यक्ष मगरले बताए ।

तपाईको प्रतिक्रिया