सुखिलाल चौधरी, उदयपुर / उदयपुरमा ट्रयाक्टर दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ८ स्थित रंगमहलको उकालोमा स.१ त ५८५० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । पिकनिक खान गएको ट्रयाक्टर फर्किने क्रममा रंगमहलको उकालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले बताए । मृत्यु हुनेमा बेलका नगरपालिका २ भागलपुरका १९ वर्षिय विनिता चौधरी, २० वर्षिय इन्द्र चौधरी र अर्का २० वर्षिय दीपिका चौधरी रहेको छ ।

यस्तै दुर्घटनामा परि दुई जनाको अवस्था चिन्ताजनक रहेको छ भने अन्य ३६ जनाको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । उपचारको लागि बेलका नगरपालिकाको मेयर दुर्गा थापा आफै अस्पतालमा पुगी उपचार गराई रहेको छ ।













