उदयपुर / उदयपुरमा एक मजदुरको हत्यामा संलग्न मुख्य अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीका राजेन्द्र राई २३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । उदयपुरको साविक रामपुर ठोक्सिला गाविस वडा नम्बर २ का ३२ वर्षका नारायण साहलाई २०५२ साल कात्तिक ४ गते हत्या गरी फरार रहेका सुनसरी जिल्लाको साविक प्रकाशपुर गाविस ५ का ५५ वर्षका राईलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बुझाइएको छ । हत्यामा संलग्न अन्य दुईजना कैद भुक्तान गरी घर फर्किसकेका छन् ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) महाराजगञ्ज काठमाडौंको टोलीले राईलाई सुनसरीको वराहाक्षेत्र नगरपालिका ५ ठाकुरबारीबाट पक्राउ गरेको हो ।
फरार सूचीमा रहेका राई केही दिन यता सोही ठाउँमा बस्दै आएको गोप्य सूचनाका आधारमा प्रहरी पक्राउ गर्न सफल भएको हो । उनलाई सीआईबीको टोलीले लामो सयमदेखि निगरानी बढाउँदै खोजी कार्यलाई तिव्रता दिएको थियो ।
सर्वस्वसहित जन्मकैद फैसला सुनाइएका राईलाई अदालतमा बुझाएसँगै कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । रामपुर निवासी शशीकुमार सेढाईको नर्सरीका हेरालोको रुपमा काम गर्दै आएका साहलाई राई लगायतको तीन जनाको समूहले नर्सरीमा काम गर्दै गरेको अवस्थामा पक्राउ गरी कोसी टप्पुको आहालेमा लगि कुटपीट गरेर हत्या गरेको जाहेरीमा उल्लेख छ ।
साह हत्याको मुख्यकारण जंगलको काठको सुराकी गर्ने गरेको र कालोबजारी गरेको कसुरदारहरुको दावी छ । कसुरदारहरू काठ व्यवसायी गर्दथे । हत्यामा संलग्न राजेन्द्रका भाई प्रकासपुर गाविस ५ का दीपक राई र प्रकाशपुरका ३ का बद्रीचन्द्र वंशीलाई प्रहरीले घटना लगत्तै पक्राउ गरेको थियो भने मुख्य अभियुक्त राजेन्द्र फरार रहेका थिए । फरार रहेका राई तत्काल पक्राउ नपरेपछि अदालतले मुद्दालाई मुल्तवीमा राखी प्रकृया अगाडी बढाइएको जिल्ला अदालतका सूचना अधिकारी कुलबहादुर खत्रीले जानकारी दिए ।
समयसीमाभित्र राई अदालतमा उपस्थित नभएपछि जिल्ला न्यायाधीश विनोद शर्माको इजलासले २०५९ मंसिर १९ गते मुल्तवी जगाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको खत्रीले बताए । सो मुद्दाको सर्वोच्च अदालतका न्यायधीशद्वय खिलाराज रेग्मी र रामनगिना सिंहको संयुक्त इजलासले जिल्ला अदालतले गरेको फैसलालाई २०६० चैत्र ५ गते साधक सदर गरेका थियो । जिल्ला र पुनरावेदन अदालतबाट सर्वस्वसहित जन्मकैद फैसला सुनाइएका मुद्दालाई माथिल्लो निकाय सर्वोच्चबाट साधक सदर गराउने व्यवस्था छ ।
घटनामा संम्लग्न रहेका दीपक र बद्रीचन्द्रलाई जिल्ला अदालत उदयपुरका तत्कालीन न्यायाधीश गोपालप्रसाद गुरागाईले २०५४ पुस ७ गते १०–१० वर्ष जेल सजायको फैसला सुनाएका थिए । जिल्ला अदालतको फैसलाप्रति चित्त नबुझाएका कसुरदारहरू तत्कालीन पुनरावेदन अदालत राजविराज पुगेका थिए ।
पुनरावेदन अदालतका न्यायाधीशद्वय गोपालप्रसाद पराजुली र आत्माराम भट्टराईको संयुक्त इजलासले २०५५ कात्तिक ११ गते ज्यान सम्बन्धिको महल १७ (२) मा व्यवस्था भए अनुरुप मतियार दीपकलाई ५ वर्ष र वंशीलाई १० वर्ष कैद फैसला सुनाएको थियो । पुनरावेदको उक्त फैसलामा सर्वोच्च अदालतका न्यायाधिशद्वय लक्ष्मणप्रसाद अर्याल र गोपालप्रसाद खुनीले २०५८ फागुन १५ गते सदर गरेका थिए ।
यसरी मजदुरको हत्या भएको थियो
मृतक साह घटनाको दिन २०५२ कात्तिक ४ गते दिनभर नर्सरीमा काम गरेका थिए । उनी सधैजसो दिनभर नर्सरीमै काम गर्ने र साँझमा घरमा आई खाना खाने गर्दथे। सोही दिन साँझमा खाना खान नआएपछि स्थानीयले तीन जनाको समूहले साहलाई कुटपिट गर्दै लगेको संरक्षक शशीकुमार सेढाइलाई जानकारी गराएका थिए ।
लगत्तै सेढाइ ६र७ जनाको समूह लिएर नर्सरीमा पुगेका थिए । सोधीखोजीका क्रममा स्थानीयले कोशीटप्पको आहालडाँडातर्फ कुट्दै लगेको जानकारी दिएपछि उनी घटनास्थलतर्फ गएका थिए । अहाल डाँडामा पुगेका सेढाइले साह मृत अवस्थामा फेला पारेका थिए । लगत्तै सेढाईले प्रहरीलाई जानकारी गराएका थिए ।
घटनामा सम्लग्नहरुको तत्काल पहिचान नभएपछि प्रहरीले प्रत्यक्षदर्शीसँग बुझी र घटनामा भेटिएको हाफ सेतो गन्जी, टिसर्ट लगायतका सामग्री बरामद गरी अनुसन्धान सुरु गरेको थियो । उनको शव बालुवाले केही भाग पुरेको, वायाँ कानमा रगत जमेको, दाहिने पातामा ४ इन्च लम्बाई, सोही नजिक ६ इन्च लम्बाई, ३ इच्च चौडाई घाउ भेटिएको, घिसारिएको, मुन्टो भाँचिएको र शरीरका अन्य भागमा चोट भएको अवश्था फेला परेको प्रहरी कार्यालयमा जाहेर दिने सेढाईले बताए ।
घटनाको अन्य कुनै कारण नभएपनि कसुरदारहरू काठको कारोबारी गर्ने भएकाले कारोबारी गर्ने क्रममा साहले देखेपछि सार्वजानिक हुने र कारवाहीमा परिने डरले हत्या गरेको हुन सक्ने अनुमान छ ।









