उदयपुर/उदयपुरका आठवटै स्थानीय तहमा सञ्चालित सामुदायिक विद्यालयमा विषयगत शिक्षकको दरबन्दी ३ सय भन्दा बढी खाली रहेको छ । सरकारले सामुदायिक बिद्यालयलाई गुणस्तरी बनाउन आवश्यक पर्ने पहिलो जनशक्ति भनेको बिषयगत शिक्षक हुन् । प्रत्येक सामुदायिक बिद्यालयमा कम्तिमा बिषयगत शिक्षक अग्रेजी, गणित, बिज्ञान, सामाजिक, नेपाली अनिवार्य गरेको छ । तर तोकिएको बिषयगत शिक्षक अभावमा यहाँका चार दर्जन सामुदायिक बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरु पढन् बाध्य रहेका छन् ।
शिक्षकको दरबन्दी अध्यावधिक हुन नसकेपछि दैनिक कक्षा शिक्षण समेत प्रभावित हुने गरेको छ । सामुदायिक विद्यालयहरुमा शिक्षक र विद्यार्थी बिचको सन्तुलन धेरैले फरक नभएपनि विषयगत शिक्षकको भने निकै ठूलो अभाव हुदै आएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार उदयपुर जिल्लामा आधारभूत तहको कक्षा १ देखि ५ सम्मका लागि विद्यार्थी संख्याको अनुपातमा शिक्षकको संख्या बढि भएपनि त्यो भन्दा माथिल्लो तहमा भने शिक्षक दरबन्दी अपुग रहेकोे छ ।
शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयका प्रमुख हरिहर धितालका अनुसार ३० हजार चारसय ५९ जना विद्यार्थी रहेको आधारभूत तहको कक्षा १—५ का लागि स्थायी,अस्थायी,राहत अनुदान र महिला शिक्षक समेत गरी १ हजार ३३६ जना शिक्षक हाल कार्यरत रहेकाछन । कम्तिमा ४५ विद्यार्थी बराबर एक शिक्षक हुनुपर्नेमा यहाँ त मुस्किलले २४ विद्यार्थी बराबर एक शिक्षकको अनुपात रहेकोले आधारभूत तहको कक्षा १—५ मा विद्यार्थी संख्याको आधारमा झण्डै ४५ प्रतिशत शिक्षक बढी देखिएको पाइन्छ ।
यसैगरी आधारभूत तहको कक्षा ६—८ का लागि स्थायी १८२ र राहत अनुदान २४२ गरी ४२४ जना शिक्षकहरु कार्यरत रहेकाछन । सो तहमा अध्ययनरत विद्यार्थी भने १९ हजार ३ सय ६७ जना रहेकोले विद्यार्थी संख्याको अनुपातमा शिक्षको संख्या सन्तुलन रहेको देखिन्छ । विषयगत रुपमा भने प्रति विद्यालय चार जना हुनुपर्ने र त्यसका लागि २४ वटा दरबन्दी कम रहेको ईकाइ प्रमुख धितालले जानकारी दिए ।
त्यस्तै माध्यमिक तहको कक्षा ९—१० मा स्थायी १२९ र राहत अनुदान १४६ गरी २७५ जना शिक्षकहरु कार्यरत रहेका तर सो तहमा अध्ययनरत बिद्यार्थी भने १२ हजार २०५ जना रहेकोले विद्यार्थी संख्याको अनुपातमा यस तहमा शिक्षको संख्या सन्तुलित जस्तो देखिए पनि प्रति विद्यालय पाँच जना विषयगत त्यसमा पनि अंग्रेजी,बिज्ञान र गणित विषयका शिक्षक आवश्यक पर्ने भएकोले यस तहमा तीन सय दरबन्दी कम रहेको ईकाइ प्रमुख धिताल बताए ।
सरकारकोे उच्च प्राथमिक्तामा रहेको शिक्षक दरबन्दी मिलान गर्ने कार्य संघीयता कार्यान्वयनसँगै अलमलमा परेको र त्यसबाट विषगत शिक्षकको अभावमा अहिले पनि प्रत्येक दिन प्रत्येक घण्टी बिद्यार्थीको पठनपाठमा बाधा परिरहेको हुदा विषयगत दरबन्दी मिलाउने काम निकै जटिल र चुनौतिपूर्ण रहेको उनको भनाइ छ । उदयपुरमा हाल आधारभूत तहको कक्षा १—५ का २३७, कक्षा ६—८ का ११० र माध्यमिक तहको कक्षा ९—१० का ७० तथा कक्षा ११—१२ का ४१ गरी जम्मा ४५८ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेको भएपनि सरकारले आवश्यक्ता अनुसार शिक्षक दरबन्दी उपलब्ध गराउन नसकेको उनले बताए ।
दरबन्दी अभावकै कारण माध्यमिक तहको कक्षा १० सम्म पढाई हुने झण्डै तीन दर्जन बिद्यालयहरुमा तहगत रुपमा एउटा पनि स्थायी शिक्षक उपलब्ध नभएकोले आधारभूत तहका त्यसमा पनि कक्षा १—५ का स्थायी शिक्षकहरु प्रधानाध्यापक भई रहेको र एक वा दुईवटा राहत दरबन्दी र केही नीजि श्रोतका भरमा कक्षा सञ्चालन हुदै आएका छन । सरकारले विगतमा संसदबाट पारित गरेको नयाँ शिक्षा ऐनले वर्षौदेखि थाती रहदै आएको अस्थायी शिक्षकहरुको समस्यालाई सम्बोधन गरेपनि सामुदायिक विद्यालयमा यथास्थितिमा रहेको शिक्षक अभावको समस्यालाई तत्काल दरबन्दी अपडेट गर्न नसकेमा दैनिक पठनपाठन नै प्रभावित हुने हुदा शैक्षिक गुणस्तरमा सुधार आउन नसक्ने शिक्षकका पेसागत संघसंगठनले जनाएका छन ।
शिक्षा बिना देशको बिकास सम्भव नहुने भएकाले सामुदायिक बिद्यालयलाई गुण स्तर र प्रभावकारी बनाउन स्थानीय तहले बिशेष अध्यायन गरि पहल गर्नु पर्ने छ । बिषयगत दरबन्दी बिना गुणस्तर कायम राख्न सकिदैन । त्यसमा पनि स्थानीय तहले आफनो क्षेत्रमा के कस्ता सामुदायिक बिद्यालयहरु छन् त्यसको अध्यायन गरि त्यहाँ कति शिक्षक दरबन्दी छ । कुन कुन बिषयगत शिक्षक अभाब भएको हो, अध्यायन गरि कार्ययोजना बनाएर अघि बढ्नु पर्ने बेला आएको छ । भौतिक बिकासले मात्र समृद्धी हासिल हुन सक्दैन् जब सम्म शिक्षामा लगानी बढाउन सकिदैन् जब सम्म बिकास सम्भव हुदैनन् । भौतिक पूर्वाधारको बिकासलाई भन्दा शिक्षाको बिकासलाई स्थानीय तहले ध्यान दिनु पर्ने आजको आवश्वकता रहेको छ ।

तपाईको प्रतिक्रिया