उदयपुर । त्रियुगा नगरपालिका भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गाको विवरण संकलन गर्न छुट्टै कार्यालय आइतबार स्थापना गरेको छ । त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटमा ऐलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण र ब्यवस्थापन समितिको कार्यालयको नगर प्रमुख बलदेव चौधरीले एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो ।
त्रियुगा नगरपालिका क्षेत्र भित्रका ६० प्रतिशत घर धुरी ऐलानी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएकाले उनीहरुलाई ब्यवस्थित गर्न र नगरपालिकाको योजना तर्जुमा गर्दा आवश्यक पर्ने तथ्याङ बनाउनका लागि अभिलेखिकरण गर्नु पर्ने भएकाले विवरण संकलनको काम हुने नगर प्रमुख चौधरीले बताएका छन् ।
सार्वजनिक तथा ऐलानी जग्गामा बसोबास गर्नेलाई अभिलेखिकरण गरि नगरपालिकाले बिटौरी कर लिएर भूमि सम्बन्धि नयाँ कानून बनाउन सम्मका लागि ब्यवस्थित गर्न खोजिएको नगर प्रमुख चौधरीले बताए । अभियानले नगर क्षेत्र भित्रका सार्वजनिक तथा ऐलानी जग्गा के कति कस्तो अवस्थामा रहेछ भन्ने तथ्याङ आउने भएकाले कार्यालय स्थापना गरि तथ्याङ संकलनको काम थालिएको नगर प्रमुख चौधरीले बताए ।
निर्वाचनको समयमा सबै राजनितिक दलले घोषणा पत्रमा समेत उल्लेख गरिएको समस्या राज्यको पनि समस्या र हामी सबैको साझा समस्याको रुपमा रहेको सार्वजनिक तथा ऐलानी पत्ति जग्गामा बसोबास गर्नेहरुलाई ब्यवस्थित गर्न पहिलो चरणमा विवरण संकलनको काम थालिने नगर प्रमुख चौधरीले बताए ।
नगरपालिकाको भूमि सम्बन्धि नयाँ कानून नआउँदासम्म सर्वे, नापी, छुट जग्गा भई जग्गा धनी प्रमाण पुजा नभएको, सामुदायिक वन उपभोक्ता समुहको रेखाङ्कन गरेको वन क्षेत्रको सिमा भन्दा बाहिरको परापूर्वकाल देखि बसोबास भएको ऐलानी तथा सार्वजनिक जग्गाको विबरण संकलन गरिने काम गरिने छ ।
ऐलानी जग्गा र सुकुम्बासीको विवरण संकलनको काम वडाले गर्ने भएकाले वडा स्तरीय समिति समेत बनाउने नगर प्रमुख चौधरीले बताए । विवरण संकलनमा वडाका प्रतिनिधि, जग्गा सर्वेक्षक (अमिन), तथा राजश्व संकलन कार्यालय सहयोगी सहितको टोलीले घरघर पुगेर काम गर्ने नगर उपप्रमुख देवीकुमारी चौधरीले बताईन । चार किल्ला तयार पारि विवरण सकलन गरिने भएकाले यसले नगरपालिकालाई ठूलो फाईदा हुने नगर उपप्रमुख चौधरीले बताईन । विवरण संकलनमा राष्ट्रिय वन क्षेत्र, सामुदायिक वनको क्षेत्र, सरकारी जग्गा, सरकारी भवन, अस्पतालत, गुठी, शिक्षण संस्था, मन्दिर, गुम्बा, चर्च, मस्जिद, खानेपानी, पोखरी, हवाई मैदान, बिद्युत उत्पादन गृह, मसानघाट, बसपार्क, रंगशाला, उद्यान पार्क लगायतको विवरण आउने छ ।
त्रियुगा नगरपालिकामा २० हजार घरघुरी मध्ये ६० प्रतिशत ऐलानीमा बसोबास गर्छन । जसमा १ लाख ५ हजार जनसँख्या रहेको नगरपालिकाको तथ्याङ्कले देखाएको छ ।
त्रियुगा नगर कार्यपालिकाको माघ ८ गते बसेको कार्यपालिकाको बैठकले ऐलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण र ब्यवस्थापन समिति कार्यविधि नियमावली पास गरि नगर प्रमुख बलदेव चौधरीको संयोजकत्वमा २० सदस्यीय नगर स्तरीय समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया