उदयपुर, ‘पुर्वाधार विकास राष्ट्र निर्माणको आधारः बनौ सर्वपक्ष जिम्वेवार’ भन्ने मुल नाराका साथ शुक्रबारबाट नेपाल निर्माण व्यवसायि संघ उदयपुरको ९ औं साधारणसभा तथा सातौं जिल्ला अधिवेशन शुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले शनिबार नयाँ नेतृत्वका लागि निर्वाचन समेत गर्दैछ । सदरमुकाम गाईघाटमा सुरु भएको अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवासायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले गरे ।
अधिवेशनको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष सिंहले समृद्ध नेपाल, सुखी नेपाली सरकारको लक्ष्यलाई सफल बनाउन हामी तयार भएपनि केही ऐनमा भएको त्रुटीले समस्या भएको बताए । उनले भने, ‘सरकारले लिएको लक्ष्यलाई हामी उत्साहित छौ तर, वर्ष दिनको उपलब्धी र निर्माण मैत्री ऐन नबनाउँदा हामी निराशामा छौं ।’ उनले समृद्ध नेपाल, सुखी नेपाली निर्माण उद्यमीबाट मात्र सम्भव भएको बताए । वर्तमान सरकार प्रति कटाक्ष गर्दै उनले निर्माण तथा उद्यमसँग जोडिएका ऐन, कानुनहरु परामर्श नगरी व्यवसायिलाई एकोहोरो पेल्ने गरी ल्याएको आरोप लगाए ।
अध्यक्ष सिंहले क्षमताभन्दा बढि टेण्डर लिने र समयमा काम नसक्ने केहि कम्पनीका कारण सिगों व्यवसायिको वदनाम भएकाले त्यसलाई रोक्न नीति बनाउनु पर्ने बताए । उनले ५ करोडसम्म जिल्ला, १५ करोड सम्म प्रदेश, १५ करोड माथि राष्ट्रिय र १ अर्वभन्दा माथि अन्तराष्ट्रिय कम्पनीविच प्रतिसपर्धा गराउने गरी मस्यौदा तयार भएको बताए । कार्यक्रममा महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले स्थानीय सरकारले जथाभावी निर्माण क्षेत्रमा इजाजत पत्र बाँडेको प्रति असन्तुष्ट व्यक्त गरेका थिए । उनका अनुसार निर्माण क्षेत्रमा विना इक्युपमेन्ट इजाजत पत्र दिएकोले भविष्यमा निर्माण व्यवसायी धारासाहिमा पर्ने बताए ।
यस्तै विशिष्ट अतिथि नेकपाका नेता तथा पूर्व संविधान सभा सदस्य मोहन खत्रीले व्यवसायीहरुले गुणस्तर युक्त काम गरौं, सरकारले के के गर्नु पर्ने सुधारको लागि सुझाब दिन अनुरोध गरेका थिए ।
अर्का नेकपाका नेता ईश्वर मणि राउतले सार्वजनिक खरिद ऐन अव्यवहारिक भएकोले संशोधनमा लैजानु पर्ने बताए । उनले ऐन संशोधनमा कर्मचारी तन्त्र हावी भएको हुँदा यसले व्यवसायीलाई नै घाटा हुने गरेको बताए । उनले स्थानीय सरकार आईसकेपछि निर्माण व्यवसायी आफै उपभोक्ता समितिको अध्यक्ष हुने र आफ्नै डोजर प्रयोग गर्ने प्रवृतिको अन्त्य गर्नु पर्ने बताए । उनले चतरा–गाईघाट–सिन्धुली–हेटौडा मदन भण्डारी राजमार्गमा स्टीमेट अनुसार काम नभएको, गुणस्तरहिन भएको गुनासो समेत गरेका थिए ।
नेपाली काँग्रेसका सभापति विदुर बस्नेतले अधिवेशनको सफलताको शुभकामना दिने क्रममा ज्यादै न्यून दर रेटमा ठेक्का लिने र काम छोडी जाने र काम गुणस्तरहिन बनाउने ठेक्केदारप्रति आक्रोशित भएको थियो । उनले पप्पु कन्ट्रक्सनलाई उदाहरण दिँदै जहाँ पनि एउटै ठेक्केदार हावी हुने र काम लथालिङ्ग छोडेर जानेप्रति सरकार कठोर हुनु पर्ने र राम्रो काम गर्ने कम्पनीलाई पुरस्कृत गर्नु पर्ने बताए ।
कार्यक्रमलाई केन्द्रिय उपाध्यक्ष धिरेन्द्र दाहाल, महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, प्रदेशका अध्यक्ष लगायतका वक्ताहरुले सफलताको शुभकामना दिएका थिए ।
नयाँ नेतृत्वको अध्यक्षका लागि कौशल आचार्य र प्रेम तिमल्सिना प्रधिस्पर्धामा छन् । नेतृत्वका लागि दुबै समुह विच प्यानल नै बनाएर लड्ने सोचमा छन् । यधपि अग्रज तथा अन्य व्यवासायिले भने मुलुक नयाँ संरचनामा उभिएकाले यो अबश्था फुटेर भन्दा पनि जुटेर जानु पर्ने भएकाले सर्वसहमत चयन हुनु पर्नेमा जोड दिएकाछन् ।
यो पटकको अधिवेशनमा राजनीतिक रङ भन्दा पनि व्यवसायिक रुपलाई नै केन्द्र बनाइएको छ । राजनीतिक आवरणमा निर्वाचनमा जाँदा पछिसम्म पनि तुछ रहिरहने भएकाले व्यवसायिक प्रतिस्पर्धा रहेको निवर्तमान अध्यक्ष भिमबहादुर राईले बताए ।
अहिलेसम्म १ सय २४ जनाको दर्ता तथा नविकरण भएको छ । यो संख्या १ सय ३० सम्म पुग्ने अनुमान गरिएको छ ।









