उदयपुर, उदयपुरको कटारी नगरपालिका ५ भोर्ले स्थित सरस्वती माध्यमिक विद्यालयले आफ्नो ३७ औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि उदयपुर २ नम्बर क्षेत्रका संघीय सांसद सुरेश कुमार राईले आजका बिद्यार्थी नै भोलिका कर्णधार भएकाले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएको बताउँदै आफ्नो क्षेत्र बाट विद्यालयलाई पूर्णरुपमा सहयोग गर्ने बताए ।
कार्यक्रम बिशेषअतिथि रहेका नेकपा केन्द्रीय सदस्य जगनाथ खतिवडाले सरकारले पार्टीको घोषणापत्र अनुसार काम गर्दै गरेकाले अबका केही वर्षमा सरकार गरेका कामहरू जनताले महसुस गर्ने बताए ।
त्यसै गरी उदयपुर प्रदेश २ ख माननीय कला घलेले प्रदेश सरकार सदैव शैक्षिक सुधारको लागि लागिपरिरहेको बताए । त्यसै गरी कटारीका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले अझै पनि कानुनी जटिलता रहेकाले नगरपालिकाले केही गर्न नसकेको बताए ।
त्यसै गरि कार्यक्रममा बोल्दै काँग्रेस क्षेत्रीय सभापति राम कुमार खत्रीले शिक्षामा धनी र गरिब बिचको खाडल पुर्न सामुदायिक बिद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न जोड दिए ।
वार्षिक उत्सवको अवसरमा विद्यालयका प्राचार्य अर्जुन बहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै उनले विद्यार्थीलाई गुणस्तर शिक्षा प्रदान गर्न विद्यालय परिवार सधैँ लागि रहने बताउँदै वार्षिक प्रतिवेदन समेत पेस गरेका थिए ।
कार्यक्रममा फागुन ७ देखी ९ सम्म आयोजना गरिएको अतिरिक्त क्रियाकलाप विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । २०६७ देखी ०७४ सम्म एस.एल.सी मा उत्कृष्ट अङ्क ल्याउने छात्र सुमन श्रेष्ठ छात्रा उपयोगिता भट्टराईलाई पुरस्कार प्रदान गर्दै सम्मान पनि गरिएको थियो । बिद्यालयले प्रमुख अतिथि र विशेष अतिथि लाई समेत सम्मान गरेको थियो । कार्यक्रममा कटारी नगर उप प्रमुख भीम कुमारी राउत, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हरिहर धिताल, सरोकार वाला निकाय, जनप्रतिनिधि, अभिभावक र विद्यार्थी समेतको उल्लेख्य उपस्थित रहेको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया