उदयपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका ३ मा वडा कार्यलय निर्माणमा विवाद भएको छ । स्थानीय तह पुनर्संरचना आयोगले गरेको निर्णय भन्दा बाहिर वडा कार्यालय बनाउन लागेको भन्दै वडाबासीहरुले उदयपुरको चौदण्डीगढी नगरपालिकाको कार्यालय घेराउ समेत गरेका छन ।
चौदण्डीगढी वडा नं. ३ को भवन बनाउने स्थान परिवर्तन गरेको भन्दै सथनीयले नगरपालिकाको कार्यालय घेराउ गर्नुको साथै नगर प्रमुलाई वडा नसार्ने दवाव दिन हस्थाक्षर बुझाएका छन् ।
राज्य पुनःसंरचना आयोगले सबै वडा बासीको पायक पर्ने स्थानमा वडाको केन्द्र तोके पनि मेयर र वडा अध्यक्षले आफु खुसी केन्द्र परिवर्तन गरेको आरोप स्थानीय श्याम राईले बताए । ‘स्थानीय वडाबासीहरु एक सघर्ष समिति नै गठन गरि आन्दोलनमा उत्रिएका छन,’ उनले भने, ‘वडा अध्यक्ष र मेयर कै कारण विवाद भएको हो ।’
आयोगले आमसाल भन्ने स्थानमा केन्द्र राख्न तोके पनि वडा अध्यक्षले बदेलपानी भन्ने स्थानमा वडा भवन बनाउन सुरु गरेकाले बाध्य बनेर आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका शम्भु तामाङले बताए । ‘व्यक्तिको नाममा वडा कार्यालय नगरपालिकाले भने स्थानीयहरुको विरोधको विच भवन बनाउन प्रक्रिया सुरु गरेको छ,’ उनले भने, ‘कडा विरोध गर्नको लागि संर्घष समिति बनाएर आन्दोलन सुरु गरेका हौं ।’
वडा नम्वर ३ का वडाअध्यक्ष पशुराम राईले केही साथीहरुले राजनीतिक मुद्धा बनाएर विरोध गरेको बताए । ‘वडा कार्यालय बनाउनु धेरै ठाँउबाट जग्गा प्राप्त भएको थियो,’ उनले भने, ‘जुन ठाँउमा उपयुक्त थियो, त्यही ठाँउमा निर्माण गरिएको हो, अव म अनुरोध पत्र लिएर जिल्ला समन्वय समिति तिर जाने तयारी गरेको छु ।’
चौदण्डीगढी नगरपालिकाको कार्यालयले वडा कार्यालय भवनको लागि बोलपत्र आव्हान गरेर निर्माण कम्पनीसँग भवन निर्माण सम्झौता समेत गरिसकेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुँमेगाईले बताए । ‘विवाद भएको वेला हामी कर्मचारी बोल्न मिल्दैन,’ उनले भने, ‘भवन बनाउने काम अघि बढिसकेको छ ।’
यस अघि चौदण्डीगढी नगरपालिका कै वडा नम्बर २ को कार्यालय भवन निर्माणमा समेत विवाद भएको थियो । बन क्षेत्रको जग्गामा सालको रुख काटेर वडा कार्यालय बनाउन लागेपछि डिभिजन बन कार्यालय उदयपुर उक्त भवन निर्माणमा रोक लगाएको वडा अध्यक्ष सन्तोष सुवेदीले बताए । ‘जनताको लागि पायक पर्ने केन्द्र खोज्ने सोच नहुँदा वडा कार्यलय भवन निर्माण विवाद भइरहेको छ,’ उनले भने, जनताको सोच र स्थानीय सरकारको सोच फरक भएपछि विवाद हुँदो रहेछ ।’

तपाईको प्रतिक्रिया