उदयपुर, उदयपुरमा उइङ्गर माइक्रो जिप रुखमा ठोकिएर पल्टिदा १५ जना घाइते भएका छन् । आइतबार साँझ कदमहा–गाईघाट सडक खण्डमा त्रियुगा नगरपालिका ६ चुरे जंगलमा उइङ्गर माइक्रो जिप रुखमा ठोकिदा १५ जना घाइते भएका छन् ।
कदमाहादेखि गाईघाट तर्फ आईरहेका ना.१ज ८०७८ नम्बरको उइङ्गर माइक्रो जिपका चालक भगत कुमार चौधरी गम्भिर घाइते भएका छन् । चालकको दुवै खुट्टा भाचिएको छ । यस्तै घाइते हुनेहरुमा दिपेन्द्र गुप्ता, निजका श्रीमति पुजा गुप्ता, छोरा सस्कार गुप्ता, कमला सुवेदी, समिक्षा सुवेदी, लता पुलामी मगर लगायत घाइते भएका छन् ।
उनीहरुलाई उपचारको लागि विराटनगर तर्फ लगिएको जलजले ट्राफिक प्रहरी चौकीका इन्चार्ज गोविन्द पौडेलले जानकारी दिए । उनका अनुसार उइङ्गर माइक्रो जिपको अगाडीको टायर पडकिएर अनियन्त्रित भै रुखमा ठोक्किन पुगको थिए ।
यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आइतबार बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नं को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।









