उदयपुर, उदयपुर जिल्लालाई साक्षर जिल्ला घोषणाको तयारी अन्तिम चरणमा पुगेको समयमा एक विद्यालयका विद्यार्थीहरुलाई कखरा समेत नआउँने तथ्य फेला परेको छ । जिल्ला समन्वय समितिको आयोजनामा उदयपुरलाई साक्षर जिल्ला घोषणा अहि फागुन ५ गते गाईघाटमा गर्ने कार्यक्रम तय भएको छ ।
तर, अधिकांश आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई कखरा समेत नआउनु भनेको शिक्षाको स्थिति कस्तो रहेको प्रश्न चिन्ह खडा भएको छ । कटारी नगरपालिका ४ बैरेनी स्थित श्री देवी आधारभूत विद्यालयमा ४ शिक्षक र १२ विद्यार्थी मात्रै छन् । विद्यालयमा पढ्ने अधिकांश विद्यार्थीलाई कखरा समेत आउँदैन । क,ख,ग,घ,ङ मा आएपनि त्यसपछिका शब्दहरु समेत नआएको पत्रकार अभिमन्यू लामिछानेले बताए । पत्रकार लामिछानेले भने, ‘त्यस विद्यालयमा १२ जना विद्यार्थीलाई पढाउन ४ जना शिक्षक छन् । तर पनि शिक्षण र सिकाई प्रभावकारी छैन, क देखि ज्ञ सम्म नै आउँदैन ।’
विद्यालयमा विद्यार्थी भर्ना भए पनि नआउने र आएपनि पुरै समय नबस्ने समस्या रहेको प्रधानाध्यापक अरुणा तामाङले बताइन् । ‘विद्यार्थी भर्ना संख्या ३५ भन्दा बढी छ , तर सधैँ १२ देखि १५ जना विद्यार्थी मात्रै आउने गरेका छन् ।’ प्रधानाध्यापक तामाङले भनिन्, ‘पिछडिएको समुदायको बसोबास भएकोले विद्यार्थी विद्यालय आउदैनन ।’ विद्यार्थी संख्या ३५ , शिक्षक दरबन्दी ४ र १ कार्यालय सहयोगी समेत ५ जना विद्यालयमा कार्यरत रहेको उनले बताइन् ।
विद्यालय भवन, शौचालय, सरसफाइ रहेपनि विद्यार्थी थोरै भएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजबहादुर मगरले स्वीकार गरे । ‘विद्यार्थी संख्या नभएपनि शिक्षकको संख्या चार जना छ’ पूर्वअध्यक्ष मगरले भने, ‘भौतिक पूर्वाधार सबै छ, विद्यार्थी थोरै छन् , कस्तो पढाउँछन, के पढाउँछन शिक्षक र विद्यार्थीले जानुन् ।’
कटारी नगरपालिकाका शिक्षा शाखा प्रमुख कुमार दाहालका अनुसार करिब दर्जन विद्यालयमा १२ देखि १८ विद्यार्थी छन् । ती विद्यालयमा कम्तीमा ४ जना शिक्षकको दरबन्दी छ । सिकाई उपलब्धि भने छैन ।
थोरै विद्यार्थी, त्यसैको अनुपातमा धेरै शिक्षक हुँदाँ पनि उपलब्धि नै चिन्ताजनक हुनु भनेको शिक्षामा सरकारी लगानी बालुवामा पानी जस्तै भएको छ । शिक्षक धेरै र विद्यार्थी थोरै हुँदाँ शिक्षण सिकाई प्रभावकारी हुनु पर्ने हो । त्यसै अनुसार विद्यालयले सिकाई उपलब्धिमा शत प्रतिशत हुने पर्ने थियो । तर त्यसको ठिक उल्टो पाइएको छ ।
सामुदायिक विद्यालयको प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाले सामान्य लेखपढ गर्नै समेत नसक्ने अवस्था छ । भने तिनीहरूको भविष्य के होला ? चिन्ताको विषय रहेको कटारी ४ का वडा अध्यक्ष कृष्णराज दनुवारले बताए ।
विद्यालयको अवस्था, विधार्थीको सिकाई प्रभावकारी होस भनेर विद्यालय समुदायलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष दनुवारले बताए । विद्यालयको अवस्था दिन प्रतिदिन खस्कनु र सिकाई उपलब्धि नहुनु भनेको विद्यालय शिक्षकको चरम लापरबाही भएको वडा अध्यक्ष दनुवारले बताए ।
शिक्षा नियमवालीमा एक शिक्षक बराबर ४५ विद्यार्थी तोकिएको छ । तर १२ विद्यार्थी सख्या रहेको विद्यायलमा ४ शिक्षक हुँदाँ समेत शिक्षण सिकाई प्रभावकारी नहुनु दुर्भाग्य हो । ‘शिक्षक शिक्षण सिकाई प्रति प्रतिबद्धता होइन, जागिरका लागि जागिर मात्रै खाई रहेका छन’ कटारी नगरपालिकाका स्रोत व्यक्ति सूर्य कार्कीले भने, ‘शिक्षकको जागिर भनेको पढाउने हो , उसले त्यसका लागि सबैभन्दा पहिले कक्षा कोठामा रहेका विद्यार्थीको सिकाई र त्यसबाट आउने उपलब्धि हेर्नु पर्छ ।’ तर कतिपय विद्यालयका शिक्षक ती कुराको वास्तै नगरी शिक्षण सिकाई गरिहेकाले समस्या आएको उनले बताए ।
शिक्षण सिकाइसँगै परीक्षा प्रणालीमा समेत त्रुटि रहेको छ । विद्यालयमा भएको शिक्षण सिकाईका आधारमा परीक्षा लिनु पर्ने हो । तर शिक्षकहरूको व्यावसायिक संस्था शिक्षक महासंघले तय गरेको परीक्षा प्रणाली र प्रश्नपत्रको आधारमा परीक्षा लिने गर्दा त्यसमा समेत त्रुटि भएको स्रोत व्यक्ति कार्कीले बताए ।
‘शिक्षक महासंघले जिल्ला भरिका विद्यालयको परीक्षाका लागि प्रश्न पत्र तयार गर्ने गरेको छ’ स्रोत व्यक्ति कार्कीले भने, ‘महासंघले पठायक्रममा तोकेको आधारमा वार्षिक परीक्षा अनुसार त्रैमासिक, अर्धबार्षिक र वार्षिक परीक्षाको प्रश्नपत्र तयार गरेर विद्यालय पठाउने गरेको छ ।’ तर विद्यालयमा महासंघले तयार गरेको प्रश्नपत्र अनुसार पठाई नै नगरेपछि कसरी परीक्षा दिने ? उनले भने ।
नगरपालिका सामुदायिक विद्यालयको शिक्षा सुधारमा प्रयत्नरत रहेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘तर स्थानीय तहलाई शिक्षाको लागि दिइएको अधिकार नै पर्याप्त छैन’ नगर प्रमुख श्रेष्ठले भने, ‘विद्यालयमा पढाई भएन , त्यसको दोष शिक्षकलाई गयो भने ती शिक्षकलाई कारबाही गर्नेसम्म स्थानीय तहलाई अधिकार छैन ।’ नगरको समग्र शिक्षकको मूल्याङ्कन, पुरस्कार, कारबाही सहितको अधिकार नहुँदाँ शिक्षकलाई पुरस्कृत र दण्डित गर्न समस्या भएको मेयर श्रेष्ठले बताए ।
कटारी नगरपालिकामा ८४ सामुदायिक विद्यालय छन् । त्यसमा माध्यमिक विद्यालय १९, निमावि १३ र प्रावि ५२ रहेको कटारी नगरपालिकाले जनाएको छ । ८४ विद्यालयमा ३ सय ४७ शिक्षक दरबन्दीमा छन् । नगरपालिकाले मासिक करिब ८८ लाख रुपैयाँ शिक्षक कर्मचारीको लागि तलब भत्ता निकासी गर्ने गरेको छ । शिक्षक कर्मचारीको तलब भत्तामा मात्रै १० करोड ५६ लाख रुपैयाँ वार्षिक खर्च भए पनि त्यस अनुसार परिणाम भने आउन नसकेको नगर उपप्रमुख भीम कुमारी राउतले बताईन । स्थानीय तहमा सबै अधिकार दिइएको भनिए पनि धेरै अधिकार हरू केन्द्रमै राखिएकोले नगरपालिकाले कारबाही गर्न समेत नसकेको अवस्था रहेको उपप्रमुख राउतले बताए ।









