उदयपुर, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा मेडिकल कलेज स्थापनाका लागि सम्भाब्यता अध्यायन थालेको छ । अनसनरत डा. गोविन्द केसी र सरकार बीचको सम्झौता अनुसार उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको सरकारी कार्यदलले दुुई दिनदेखि त्रियुुगा नगरपालिका क्षेत्रको स्थलगत सम्भाव्यता अध्ययन थालेका हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा गठित कार्यदलले दुई दिन सम्म सम्भाव्यता अध्ययन गर्दै सोमबार बिहान जिल्लाका सरोकारवालासँग छलफल गरेको हो ।
त्रियुगा नगरपालिकाले पहिलो नगर परिषदबाट नै मेडिकल कलेज स्थापनाका लागि निर्णय गरि शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयमा पेश गरे अनुरुप अध्यायन टोली आएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । उनले भने हाम्रो पहिलो प्राथमिकता नै मेडिकल कलेज हो । मेडिकल कलेजका लागि आवश्यक पर्ने जग्गा नगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख चौधरीको भनाई रहेको छ ।
कार्यदलमा शिक्षा मन्त्रालयका उपसचिव बिष्णुप्रसाद मिश्र र विश्व विद्यालय अनुदान आयोगका योजना अधिकृत बिनोद भट्टराई छन् । टोलीले त्रियुगा नगरपालिका भित्र जग्गाको उपलब्धता, जनसंख्या र स्वास्थ्य, बिरामीको चापबारे दलका नेता, जनप्रतिनिधि र अन्य व्यक्तिसँग छलफल गरेको हो ।
सरकारले केसीको १५ औ अनसनका क्रममा गरेको सम्झौता अनुसार उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनार्थ सम्भाव्यता अध्ययन थालिएको कार्यदलका सदस्य सचिव तथा शिक्षा मन्त्रालयका उपसचिव बिष्णुप्रसाद मिश्रले बताए । टोलीले त्रियुगा नगरपालिका–१३ को भातिर्खकस्थित विद्यालयको जग्गा, १२ को बिशनपुर मुनीको ऐलानी जग्गा, वडा नम्बर ३ स्थित चापको जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहको जग्गा, वडा नम्बर ४ को जनज्योति जोरपोखरीको फर्छाैयौट खोला नजिकको पिकनिक स्पोर्ट र वडा ८ र ९ को उत्तराई टोलको विमानस्थलको लागि सर्भे गरिएको जग्गा अबलोकन गरेको थियो ।
त्यसैगरी वडा नं. ११ को ढिम्कि पिकनिक स्पोर्टस, १० को सिमल्टार र जिल्ला अस्पताल परिषरको जग्गाको पनि अध्ययन गरेको छ । अध्ययन गरिएका जग्गा सबै जसो ऐलानी, सामुदायिक वन र विद्यालय मातहतमा रहेका जग्गा हुन् । मेडिकल कलेजको लागि २५ देखि ३५ बिगाहा जग्गा आवश्यक पर्ने भएकाले जग्गाको उपलब्धता र मुख्य सडकदेखिको पहुँचको बारेमा टोलीले अध्ययन गरेको जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर दर्नालले बताए । उनले मेडिकल कलेज सबैको चासो र सरोकारको बिषय भएकाले सबैसँग परामर्श गरी विवादरहित ढंगले स्थान सिफारिस गरिने बताए ।
यस्तै अध्ययन टोली कटारी नगरपालिका क्षेत्र भित्रका जग्गाहरुको पनि अनुगमन गरेको थियो । भौगोलिक हिसाब र धेरै जिल्लाहरूसँग छुने सगरमाथाको प्रवेशद्वार जिल्लाको प्रमुख व्यापारिक केन्द्र मानिने कटारीमा मेडिकल कलेजको लागि अति उपयुक्त ठाउँ भएको कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । कटारी नगरपालिका भित्र प्रदेश २ र ३ प्रदेशसँग पनि जोडिएको र धेरै जिल्ला सँग पनि सिमाना जोडिएको हुनाले पनि कटारीमा राम्रो छ । छिमेकी जिल्ला र छिमेकी प्रदेशका जनतालाई समेत सहज र सरल रूपमा सेवा उपलब्ध हुने भएकोले कलेज खोल्न राम्रो ठाउँ भएको नगर प्रमुख श्रेष्ठले बताए ।
कलेज खोल्नका लागि कटारी नगरपालिकाको तर्फबाट गर्नु पर्ने काम कार्वा्हिमा कुनै कसुर वाकी नराख्ने प्रमुख श्रेष्ठले बताए । मदन भण्डारी वैकल्पिक राजमार्ग, सिद्धिचरण राजमार्गले कटारीलाई छोएकाले पनि कटारी नै उपयुक्त भएको प्रमुख श्रेष्ठले बताए ।









