उदयपुर । कोशी प्रदेशकै उत्कृष्ट जिल्ला अस्पताल मध्ये एक मानिँदै आएको प्रादेशिक जिल्ला अस्पताल उदयपुर यतिबेला गम्भीर प्रशासनिक, आर्थिक र व्यवस्थापकीय संकटमा फसेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनको तयारीमा उत्रिएका छन् ।

अस्पतालमा अक्सिजन अभावदेखि लिएर आधारभूत परीक्षण सेवा प्रभावित भएको, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले महिनौँदेखि भत्ता नपाएको र बिरामी सेवासमेत प्रभावित हुन थालेको भन्दै उनीहरूले आकस्मिक (इमर्जेन्सी) सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिँदै शनिबार एक पत्रकार सम्मेलन आयोजारी चेतावनी दिएका हुन् ।

अस्पतालको सभाहलमा आयोजित पत्रकार सम्मेलनमाचिकित्सक तथा स्वास्थ्यकर्मीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमार्फत अस्पतालभित्र लामो समयदेखि देखिएका समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको पत्रकार सम्मेलनमा डाक्टर कृष्णकुमार यादवले गरे । उनले भने, ‘अब हाम्रा आफ्ना जायज माग सार्वजनिक गर्दै आन्दोलनमा जाने घोषणा गरेर पत्रकार सम्मेलनको आयोजना गरेका हौँ ।’

‘उत्कृष्ट अस्पताल’बाट संकटग्रस्त अस्पतालसम्म

विगतका वर्षहरूमा कोशी प्रदेशअन्तर्गतका जिल्ला अस्पतालहरूमध्ये उत्कृष्ट अस्पतालको पहिचान बनाएको उदयपुर अस्पताल पछिल्ला केही महिनादेखि भने अव्यवस्था, समन्वय अभाव र प्रशासनिक ढिलासुस्तीको चपेटामा परेको स्वास्थ्यकर्मीहरूको आरोप छ।

विशेषगरी स्टोर शाखा र लेखा शाखाको कार्यशैलीका कारण अस्पताल सञ्चालनमै समस्या आएको उनीहरूको भनाइ छ।अस्पताललाई अत्यावश्यक सामग्री समयमै उपलब्ध हुन नसकेको, निर्णयहरू कार्यान्वयन नभएको तथा कर्मचारीहरूलाई पाउनुपर्ने सेवा–सुविधा रोकिएको आरोप लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार अस्पतालमा फिल्टर, साबुन, सर्फ, गज, पन्जा, कुचो जस्ता दैनिक आवश्यक सामग्रीसमेत उपलब्ध छैनन् । यसका कारण अस्पतालको सरसफाइ प्रभावित भएको र स्वास्थ्य जोखिम बढेको पत्रकार सम्मेलनमा डाक्टर यादवले गुनासो गरे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर विषय त अस्पतालमा केही सातादेखि अक्सिजनसमेत सकिएको अवस्था छ । अक्सिजन आवश्यक पर्ने बिरामीको उपचारमा कठिनाइ भइरहेको भए पनि सम्बन्धित निकायले कुनै चासो दिएको छैन ।’

विज्ञप्तिका अनुसार अस्पतालको ल्याब शाखामा सामान्य दिशापिसाब परीक्षण तथा सीबीसीजस्ता आधारभूत परीक्षणसमेत नियमित रूपमा हुन सकेका छैनन् । यसले बिरामीहरू निजी प्रयोगशालातर्फ धाउन बाध्य भएको र सेवा प्रवाहमा प्रत्यक्ष असर परेको जनाइएको छ ।

एक्स–रे शाखामा दुईवटा प्रिन्टर हुँदाहुँदै अनावश्यक रूपमा अर्को प्रिन्टर खरिद गरिएको तथा व्यवस्थापनमा गम्भीर कमजोरी रहेको आरोपसमेत विज्ञप्तिमा लगाइएको छ।

कोशी प्रदेशमै पहिलोपटक सञ्चालनमा आएको हेमोडायलाइसिस सेवासमेत प्रभावित भएको छ । उदयपुरसहित छिमेकी जिल्लाका सयौँ मिर्गौला रोगीले लाभ लिइरहेको उक्त सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापन हुन नसक्दा सेवा नै संकटमा परेको छ ।

अस्पतालमा सरसफाईमा प्रयोग हुने फिने, सरफ, कुचो, पोछा, रापर, कपडा लगायतका सामान माग्यो भने अस्पताल बन्द गरि दे, ड्रेसिङ गज छैन भन्दा ड्रेसिङ बन्द गरि दे, औषधि छैन भन्दा फार्मेसी बन्द गरि दे, एक्स–रेको फिल्म छैन भन्दा एक्स–रे बन्द गरिदे जस्ता गैर जिम्मेबारी अभिव्यक्तिले अस्पताल संकटमा परेको छ । यति मात्र कहाँ हो र ? अस्पतालका प्रशासनका कर्मचारीहरुले इमरजेन्सी सेवा समेत बन्द गरिदे भन्न थालेका छन् । जवकी इमरजेन्सी सेवा डाक्टरलाई बन्द गर्ने अधिकार छैन तर प्रशासनले बन्द गरिदे भन्ने बाहेक सामाधान खोज्न नचाहेको पत्रकार सम्मेलनमा डाक्टरहरुले बताउनुभयो ।

प्रशासनिक कर्मचारीहरु जिम्मेबारबाट पन्छिन खोज्दैछ । अस्पतालका प्रशासनका कर्मचारीहरु आफ्नो कक्षमा लाखौको एसी राख्न सकिने तर हाम्रो वार्डमा रहेको एउटा पंखा पनि नयाँको के कुरा गरौ मर्मत समेत न गरिदा विरामीहरु मारमा परेको छ ।

डाक्टरहरुको गुनासो अपरेशन थेटरमा अपरेशन गर्दा गर्दै आधामा लाइन जाँदा विरामीको ब्लड बगिरहेको हुन्छ तर जेनेरेटर नहुँदा अपरेशन अगाडी बढाउन सकिरहेका छैनौ । कति खेर लाइन आउँछ र शुरु गरौ बरु अपरेशन गर्दा चिरफार गरेको भागमा हातले समातेर बसिरहेको हुन्छौ कति खेर लाइन आउँछ भनेर ।

‘लेखा शाखाले समिति चिन्दैन’

पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिले गरेका निर्णयहरू लेखा प्रशासन शाखाले कार्यान्वयन गर्न नमानेको आरोप विज्ञप्तिमा लगाइएको छ । उनै डाक्टर यादवले भने, ‘व्यवस्थापन समितिका निर्णयलाई बेवास्ता गर्ने, कार्यालय प्रमुखका निर्देशनसमेत नमान्ने र अस्पताल सञ्चालनसँग सम्बन्धित काममा अनावश्यक अवरोध सिर्जना गर्ने प्रवृत्तिले समस्या आएको हो ।’

उनीहरूले सेवाग्राहीसँग उचित व्यवहार नहुने, चिकित्सकहरूलाई समेत हप्काउने र अभद्र भाषा प्रयोग गर्ने गरेको आरोप लेखा शाखामाथि लगाएका छन्।

महिनौँदेखि रोकियो चिकित्सकको भत्ता

स्वास्थ्यकर्मीहरूले आर्थिक पक्षमा समेत गम्भीर समस्या रहेको बताएका छन्। उनीहरूका अनुसार विशेषज्ञ चिकित्सकहरूले विगत ६ महिनादेखि प्रोत्साहन भत्ता र ‘अन–कल’ भत्ता पाएका छैनन् भने मेडिकल अधिकृतहरूले चार महिनादेखि अतिरिक्त भत्ता प्राप्त गरेका छैनन्।

चालु आर्थिक वर्षको खाजा भत्ता पनि हालसम्म वितरण नभएको उनीहरूको गुनासो छ।ज्यालादारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले पोशाक भत्ता नपाएको, पदअनुसारको तलब–भत्ता वितरणमा समेत समस्या रहेको उनीहरूले बताएका छन् ।

आर्थिक पारदर्शितामाथि प्रश्न

अस्पतालमा आवश्यक औषधि, उपकरण र उपचार सामग्री खरिदका लागि रकम अभाव भएको जवाफ दिने गरिएको तर अस्पतालको आय–व्यय विवरण सार्वजनिक नगर्ने गरिएको स्वास्थ्यकर्मीहरूको आरोप छ ।

उनीहरूले अस्पतालका लागि विभिन्न शीर्षकमा प्राप्त बजेट व्यक्तिगत स्वार्थका कारण समयमै खर्च हुन नसकेको र त्यसले अस्पताल सञ्चालनमै समस्या उत्पन्न गरेको दाबी गरेका छन् । फार्मेसी शाखामा अतिरिक्त सेवाबापतको भत्ता वितरणमा विभेद भएको तथा आर्थिक कारोबारमा चुहावटसमेत रहेको आरोप विज्ञप्तिमा उल्लेख छ।

‘अब आन्दोलनको विकल्प छैन’

स्वास्थ्यकर्मीहरूले पटक–पटक समस्या समाधानका लागि आग्रह गर्दा पनि कुनै ठोस पहल नभएकाले आन्दोलनको विकल्प नरहेको बताएका छन्।उनीहरूले सम्बन्धित निकायलाई तत्काल समस्या समाधान गर्न आग्रह गर्दै उचित समयभित्र माग सम्बोधन नभए आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिने चेतावनी दिएका छन्।

‘हामी बिरामीको स्वास्थ्यप्रति संवेदनशील छौँ । तर अस्पतालभित्रको चरम अव्यवस्था, सेवा–सुविधामा विभेद र प्रशासनिक बेवास्ताले काम गर्ने वातावरण नै समाप्त भएको छ,’ पत्रकार सम्मेलनमा उनकै डाक्टर यादवले भने । उनीहरूले आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

पत्रकार सम्मेलनमा आन्दोलनको घोषणा गरेर चिकित्सक तथा स्वास्थ्कर्मीसँगै भेटिएका जिल्ला अस्पताल उदयपुरका निमित्त प्रमुख तथा निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मुकेश झाले जायज माग रहेकाले उक्त आन्दोलनलाई सर्मथन रहेको बताए । उनले भने, ‘हामीसँग अस्पतालबाट दिने सेवा धेरै छन्, तर धेरै समस्याले घेरेकाले दिन नसक्ने अवस्थामा छौँ । अस्पताल प्रशासन, प्रदेश सरकार र सम्बन्धित निकायमाथि जानकारी गराउँदा पनि सुनुवाइ नभएको अवस्था छ ।’

तपाईको प्रतिक्रिया