उदयपुर -जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा सम्पन्न नाप तौल सम्बन्धी शिविरमा एक सय ७५ व्यवसायीले सुविधा लिएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा गाईघाटमा लिइएको हो ।

शनिबारदेखि मंगलबारसम्म भएको नाप तौल शिविरमा एक सय ७५ व्यवसायीले गाईघाटमा नाप तौलका सामग्री चेकजाँच, नविकरण र नयाँ दर्ता गरेको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । शिविरमा ८८ नयाँ व्यवसायीले ढक तराजु चेक जाँच तथा दर्ता गराएको अध्यक्ष भगतले जानकारी दिए । दर्ता गराउनेमा अधिकांश किराना पसल, मासु पसल, एग्रोभेट तथा फलफुल व्यवसायी भएको अध्यक्ष भगतले जानकारी दिए । उनका अनुसार ३७ सुनचाँदी व्यवसायीको ढक तराजु चेकजाँच र नविकरण गरेको थियो । हार्डवेयर, किराना पसल, फलफुल तथा मासु पसल व्यवसायीको नाप तौलका सामग्रीको चेकजाँच तथा नवीकरण गरिएको अध्यक्ष भगतले जानकारी दिए ।

नाप तौलका सामग्री परीक्षण तथा नवीकरण गराउनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई शिविर संचालनले लाभ लिएको अध्यक्ष भगतले बताए । उद्योगी तथा व्यवसायीहरूलाई नाप तौल कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालन गरिएको अध्यक्ष भगतले बताए । जिल्लामा नाप तौलको कार्यालय नहँुदा उद्योगी तथा व्यवसायीलाई विराटनगरसम्म जानु पर्ने बाध्यता हटेको अध्यक्ष भगतले बताए ।

नाप तौलका सामग्री चेकजाँचका लागि विभिन्न स्थानबाट उद्योगी तथा व्यवसायी आ–आफ्ना सामग्री लिएर जिल्ला उद्योग वाणिज्य संघको कार्यालयमा आएको थियो । नाप तौल तथा गुणस्तर तथा नाप तौल कार्यलय विराटनगरका निरीक्षक संजिव ठाकुरको नेतृत्वमा मंगलबारबाट शिविर शुरु भएको थियो ।

तपाईको प्रतिक्रिया