उदयपुर, वैशाख २०/ चौदण्डीगढी नगरपालिकाले सरकारी मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खन्न गरेको स्थानीयको विरोधपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले रोक्न निर्देशन दिइएको छ । नगरपालिकाले नियम विपरित ठेक्का लगाएर अवैध रुपमा ढुँगा, गिट्टी र बालुवाको उत्खन्न र निकासी गर्दै आएको कार्य तत्काललाई रोकिएको छ ।

नगरपालिकाकाले साङ्गे छोयलिङ्ग कन्स्ट्रक्सन प्रा.लि. मार्फत एसियन हाइवेका नाममा मापदण्ड विपरित उत्खन्न गरि विक्री वितरण गरिरहेको ढुँगा, गिट्टी र बालुवा रोकिएको हो ।

स्थानीयको विरोधपछि नगरपालिकाकाले चौदण्डीगढी वडा नम्वर २ र ४ मा रहेको स्थानीय लामा खोला र माडीबास खोलामा ठेक्का लगाई उत्खन्न गरी विक्री गरिरहेको ढुँगा, गिट्टी र बालुवा शुक्रबारबाट पूर्णरुपमा रोकिएको हो । सोही क्षेत्रका स्थानीयले अवैध रुपमा सरकारी मापदण्ड विपरीत उत्खन्न कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयमा शुक्रबार तत्काल निकासी रोक्नको लागि ज्ञापन पत्र बुझाएको थियो ।

नगरपालिकाले ढुँगा, गिट्टी र बालुवा उत्खन्न बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७८) र दोस्रो संशोधन २०७९, चुरे संरक्षण कार्यविधि लगायत विभिन्न ऐन विपरित रहेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।

ज्ञापन पत्र बुझे लगतै जिल्ला समन्वय समिति प्रमुख गौर बहादुर विश्वकर्मा, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेल र डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत पुन्य प्रसाद पौडेल सहितको प्राविधिक टोलीले अनुगमन गरेर उक्त कार्य रोक्न निर्देशन दिइएको छ ।

उत्खन्न स्थलमा अनुगमन पुग्नु अघिमात्रै चौदण्डीगढी नगरपालिकाका राजश्व शाखा प्रमुख प्रकाश वन लगायतले हतारहतार सूचना पाटी झुण्डाउँदै : फोटो नागरिक बहस डट कम

उत्खन्न स्थलमा अनुगमन पुग्नु अघिमात्रै चौदण्डीगढी नगरपालिकाका राजश्व शाखा प्रमुख प्रकाश वन लगायतले हतारहतार सूचना पाटी टाँगेका थिए । उत्खन्न क्षेत्रमा मापदण्ड विपरित बढी खनिएको ठाउँको जग्गा पुनः डोजर लगाएर सम्याएको थियो । उत्खन्न गर्ने कानुनी प्रक्रियाको डकुमेन्ट नगरपालिकाका राजश्व शाखा प्रमुख प्रकाश वनसँग मागेका थिए ।

वनले डकुमेन्ट देखाउन नसेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले तत्काल रोकी कानुनी प्रक्रिया अध्ययन गर्ने र पछि निर्णय लिने बताए । उनले भने, ‘स्थानीयले सामुदायिक वन र खोलाको जग्गा भनेको छ भने नगरपालिकाले लालपुर्जा भएको जग्गामा उत्खन्न गरेकोले यहाँ तालमेल मिलेको देखिदैन, तत्काल यहाँ केही नगर्न नगरपालिका र प्रहरी प्रशासनलाई निर्देशन दिइएको छ । हाम्रो प्राविधिक टोलीले प्राविधिक प्रतिवेदन दिन्छ । जुन कानुनी प्रक्रिया पुरा गरिएको भनिएको छ । त्यो एक कपी हामी पनि मगाएका छौ र जिल्ला समन्वय समितिमा हामी छलफल गरेर मात्र निर्णय लिन्छौँ ।’

नगरपालिकाले चौनपा २ र ४ पर्ने खोलाबाट नम्वरी र नीजि जग्गाको ग्राभेल ढुँगा बिक्री निकासीको लागि प्रारम्भिक वातावरणीय परीक्षण २०८१÷२०८२ बमोजिम गएको वैशाख ७ गतेदेखि साङ्गे छोयलिङ्ग कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको थियो । त्यसपछि स्थानीयहरुले विरोध गर्दै आएका थिए । निजी नम्वर जग्गाबाट प्रारम्भिक वातावरणीय परीक्षण गरी ठेक्का दिएको भनिए पनि कानुनी प्रक्रिया प्रष्ट खुल्ने कुनै पनि डकुमेन्ट नदेखिएकाले तत्काल रोक्नको लागि निर्देशन दिइएको जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माले जानकारी दिए ।

माडीबास र लामा खोलाबाट साङ्गे छोयलिङ्ग कन्स्ट्रक्सनले ढुँगा, गिट्टी र बालुवा उत्खन्न गरी जिल्ला बाहिर निकासी गर्दै आएको थियो । त्यसमा चौनपा ४ लामा खोला किनारमा रहेका सात घर परिवारको जग्गामा उत्खन्न गरिएको छ । ति सात घरको जग्गाबाट १० हजार पाँसय ५१ घनमिटर नगरपालिकाले स्विकृत गर्ने भनिए पनि हाल नौ हजार एकसय ६० घनमिटर ढुँगा, गिट्टी र बालुवा उत्खन्न स्विकृत दिएको कागजात मात्र नगरपालिकासँग भएको नगरपालिका राजश्व शाखा प्रमुख वनले देखाएका थिए । यता माडीबास खोलाको कार्यालयमा भएको बताएका थिए । अनुगमन टोलीसँग राजस्व शाखा प्रमुख रहेका वनले भने, ‘सबै डकुमेन्ट नगरपालिकाको कार्यालय बेल्टारमा छ । यहाँ ल्याउन भुलेछु ।’

यता त्यही लामा खोलाको नम्वरी नीजि जग्गा भनिएका स्थानीयहरुको उपस्थिति थिएनन् । उक्त उत्खन्नको विरोध गर्दै सर्घष समिति बनाएर ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका पुष्पराज सुवेदीले उत्खन्न कार्य नै अवैधानिक भएकाले विरोध गर्नु परेको बताए । उनले भने, ‘जथाभाबी खनिएको छ । नम्वरी भए पनि प्रष्ट छैन । वन, खोला क्षेत्रमा खनिएको छ । खेलमा आउने कुलो हराएको छ । त्यही भएकाले विरोध गरेका हौँ । अव अनुगमन टोलीले एउटा निष्र्कष दिन्छ भन्ने लागेको छ ।’

यस विषयमा चौदण्डी नगरपालिकाका मेयर कालुमान लामासँगको भेटमा कुनै पनि प्रक्रिया दिन चाहेनन् । उत्खन्नको विषयमा नबोल्ने मेयर लामाले बताए ।

तपाईको प्रतिक्रिया