रिता राउत, उदयपुर /उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ माटे खोलाको शिरमा रहेको प्राकृतिक ताजमहलको आकृति भएको पहाड हेर्न आउनेको भिड लाग्न थालेको छ । शाही खोलाको किनारमा अवस्थित पहाडको भित्तामा प्राकृतिक रुपले ताज महलको आकृतिमा रहेको माटोको ढिस्कोलाई अवलोकन गर्न आउनेको भिड लाग्न थालेको छ ।
स्थानीयहरुले पहाडको भित्तामा रहेको उक्त सुन्दर आकृतिको महल जस्तो आकारलाई सामाजिक संजालमार्फत पोस्ट गरेपछि सर्वसाधारणको साथै शिक्षक, विद्यार्थी, समाजसेवी, व्यवपारी लगायतको पहाड हेर्न भिड लागेको छ ।
उदयपुरको साथै सिरहा, सप्तरी लगायतका जिल्लाबाट समेत सर्वसाधरण ताज महलको अवलोकन गर्न आउने गरेको प्राकृतिक ताज महल संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष राजकुमार दनुवारले बताए । उनका अनुसार विशेष गरेर त्रियुगा नगरपालिका लगायत सिरहा, सप्तरीको साथै काठमाण्डौं, विराटनगर जस्ता ठाउँमा रोजगारीको सिलसिलमा रहेका र दशैं मनाउन गाउँ आएकाहरु प्राकृतिक ताजमहल हेर्न आउने गरेको बताए ।
प्राकृतिक रुपमा ताजमहलको आकृति भएको माटोमै महल बनेको सुन्दा गाईघाटबाट ६ जना अटो टेम्पू नै रिजर्भ गरेरै हेर्न आएको अन्दाजी ६० वर्षीया वृद्धा विन्दा दाहालले बताईन् ।


त्यस्तै विराटनगरबाट दशैंको टीका लगाउन आउनु भएका अन्जना काफ्ले पनि सामाजिक संजालमा उदयपुरमा ताज महलको आकृति भएको पहाड भेटियो भनेपछि सो ताजमहलको स्वरुप हेर्न आएको वताईन् । गाईघाट असारीबाट प्राकृतिक ताजमहलको अलोकन गर्न आउनु भएकी सबिना राईले आफू फेसबुकबाट थाहा पाएर हेर्न आएको र यसलाई संरक्षण गर्न स्थानीयले सम्वनिधत निकायसंग माग गर्नु पर्ने समेत बताईन् ।


यस्तै त्रिनपा–७ चुहाडे स्थानीय कमल प्रसाद पोखरेलले संरक्षणको अभावमा यो सुन्दर संरचना लोप हुन सक्ने सम्भावना रहेको बताए । उनका अनुसार ताज महलको दृश्य हेर्न आउनु त ठिकै हो तर, ताज महलको माटोलाई नै खोस्रिन थालेपछि यसको चाँडै लोप हुने भएकोले यसको वरिपरि तारबार लगाएर संरक्षण गर्नु पर्ने बताए ।


तत्कालिन नेकपा एमालेका नेतृ तथा त्रियुगा नगरपालिकाका उपमेयरका उम्मेदबार गीता रेग्मी परिवारसहित ताज महल हेर्न पुगेका थिए । उनका अनुसार यो प्राकृतिक दृश्यले मोहित वनायो र यसको संरक्षणको लागि अन्य निकायबाट पहल गर्नु पर्ने बताईन् ।


माटे खोला र शाही खोलामा अवस्थित प्राकृतिक ताज महल संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष राजकुमार दनुवारले प्राकृतिक रुपमा बनेको उक्त आकृति ३६ साल देखि नै उस्तै आकारमा अवस्थित रहेको बताए । यस ताजमहलको संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न संरक्षणको जरुरी रहेको बताए । उनले सिरहा, सप्तरी लगायतबाट ताज महल हेर्न मानिसहरु आए तर, यसै वडाका वडाध्यक्ष अहिलेसम्म पनि अवलोकन गर्न नआएको गुनासो सुनाए । वडाध्यक्ष कमल कुमार राउतले आफूले उक्त प्रकृति प्रदत्त सुन्दर आकृतिलाई बाल्यकालदेखि नै हेर्दै आएको तर अहिले मात्रै प्रचार प्रसारमा आएकाले अब व्यवस्थित गर्ने योजना बनाउन लागि परेको वताए ।

तपाईको प्रतिक्रिया