उदयपुर । कटारी नगरपालिकामा विद्युत छिनमा आउने र छिनमै जाने समस्याले कटारीका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौं पटक विद्युत आउने र जाने समस्याले नगरका सेवाग्राही मारमा परेपछि कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेका छन् ।
झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो आएपछि मेयर श्रेष्ठले समस्या समाधान गरिदिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समक्ष अनुरोध गर्नु भएको छ। दिनमा दर्जनौंपटक विद्युत जाने र आउने समस्याका विषयमा स्थानियले चासो दिए पछि मेयर श्रेष्ठले प्राधिकरण कार्यकारी निर्देशकलाई भेटेका छन् ।
बुधवार प्राधिकरण कार्यकारी निर्देशकलाई भेट गरी मेयर श्रेष्ठ सहित कटारी ७ वडा अध्यक्ष सुबिन ढुंगानाले विद्युत नियमित गराउन, कटारीमा १३२ केभिको सब– स्टेशन राखिदिन र कटारी उप शाखालाई वितरण केन्द्र बनाउन ध्यानाकर्षण गराएका छन् । टोलीले छिनछिनमा विद्युत अवरुद्ध हुँदा स्थानिय जनताले सास्ती खेप्नु परेको भन्दै तत्काल समस्या समाधान गरिदिन समेत अनुरोध गरेका थिए ।
हावाहुरीका कारण पोल तथा तार छोएका बाँस तथा रुखको हाँगो पन्छाउने, मेन लाईनमा समस्या हुँदा पटक पटक लाइन काट्नु परेको विद्युत प्राधिकरण कटारी उप शाखा प्रमुख सन्तोष कार्कीले बताए ।