उदयपुर । त्रियुगा नगरपालिकाको आर्थिक वर्ष २०८०/२०८१ सालको वार्षिक बजेट तथा नीति तथा कार्यक्रम पारित भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर प्रमुख बसन्त कुमार बस्नेतले प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा पुरानो कार्यक्रमहरुलाई निरन्तरता दिँदै नयाँ योजनाहरु पनि प्रस्तुत गरिएको छ । जसमध्ये त्रियुगा नगरपालिकाको कर प्रणालीलाई सुधार गरी सफ्टवेयरको माध्यमबाट कर असुली गर्ने, मोबाइल एप्सको विकास गरी अनलाइनबाट कर तिर्ने व्यवस्था मिलाउने, निजी स्वास्थ्य संस्थालाई सुचिकृत गरि कुल सेवाग्राहीको १० प्रतिशत सेवाग्राहीलाई निःशुल्क सेवा अनिवार्य उपलब्ध गराउन पहल गर्ने, संस्थागत विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको १० प्रतिशत गरिव, अल्पसंख्यक, सिमान्तकृत विद्यार्थीहरुलाई निःशुल्क भर्ना र मासिक छुट गराउन प्रबन्ध मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

११ औ नगर सभाले अनुमानित १ अर्ब ४७ करोड ३४ लाख ९ हजारको बजेट प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षमा १ अर्व २८ करोड ५३ लाख ३० हजार रुपैया विनियोजन भएको थियो । नगर उपप्रमुख महेश्वरी राईले त्रियुगा नगरले बजेट प्रस्तुत गर्दै आन्तरिक आय तर्फ २० करोड ३० लाख, राजश्व वाँडफाँड तर्फ १९ करोड १६ लाख ४७ हजार, प्रदेश सरकार अनुदान तर्फ ५ करोड ८२ लाख ६२ हजार र संघिय सरकार अनुदान तर्फ तर्फ १ अर्व २ करोड ५ लाख, प्रदेश वित्तीय समानीकरण अनुदान १ करोड ३२ लाख ९० हजार, संघिय वित्त ीय समानीकरण अनुदान २० करोड १८ लाख गरी १ अर्व ४७ करोड ३४ लाख ९ हजारको बजेट विनियोजन भएको छ ।

यस्तै खर्च तर्फ पूर्वाधार विकास बजेट २ करोड विनियोजन गरेको छ भने प्रशासनिक खर्च २३ करोड ३५ लाख ५० हजार विनियोजन गरेको छ । यस्तै आर्थिक विकास अन्तर्गत (कृषि, पशु, सहकारी, पर्यटन र लघु, साना उद्यम प्रोत्सहान) तर्फ १ करोड, सामाजिक विकास तर्फ २ करोड ३० लाख, वन, वातावरण, विपद्, फोहरमैला तर्फ ५ लाख, संस्थागत क्षमता विकास तर्फ ८ लाख बजेट विनियोजन भएको छ ।
वडागत रूपमा १६ वडालाई ६० लाखका दरले अलग्गै बजेट विनियोजन गरिएको छ ।

पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरोन्नति, कल्भर्ट र भवन निर्माण, पार्क निर्माणलगायत १५ योजना छन् । शिक्षा, स्वास्थ्य, टोल विकास, साहित्य, कला, भाषाका साथै आदिवासीजनजाति र मधेसी तथा पिछडा वर्गको हितका लागि पनि कार्यक्रम पारित गरिएको छ ।

त्यसैगरी महिला, बालबालिका, युवा र किशोरी, अपांग र दलित समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । सभाको अध्यक्षता मेयर बसन्त कुमार बस्नेतले गरेका थिए ।

तपाईको प्रतिक्रिया