उदयपुर, त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले प्राकृतिक श्रोत साधानमा धनि रहेको त्रियुगा नगरपालिकाको वडा नम्बर १६ लाई नगरकै एक नम्बर वडा बनाउने बताए । यो वडा बिकासको सम्भावना बोकेको वडा हो । यहाँ सिमेन्टको खानी रहेकाले सिमेन्ट हब बनाउने योजना नगरले अघि सारेको छ । यहि वडाको बेलदोभान रौता पोखरी केबलकारको अध्ययन भई रहेको छ । बेलदोभानमा बरुवा बाँध निर्माण गरि बिद्युत उत्पादन सहित बहु उपयोगी बनाउने गरि सम्भाब्यता अध्ययन भई रहेको जानकारी दिए ।
त्रियुगा नगरपालिका वडा नम्बर १६ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान, अपाङ्गता भएकाहरुलाई न्यानो कपडा र बालबालिकाहरुलाई छात्रबृति बितरण गर्दै बिहिवार सो कुरा नगर प्रमुख चौधरीले बताएका हुन । त्रियुगा नगरपालिकाको दुर्गभ क्षेत्रमा रहेको १६ नम्बर वडा नगरकै सबै भन्दा बढी सम्भावना बोकेको वडा हो ।
नगर प्रमुख चौधरीले ९७ वर्षिय जेष्ठ नागरिक मतिसरा राईलाई सम्मान गरि कार्यक्रमको सुरुवात गरेको थियो । कार्यक्रममा ८० वर्ष माथिका ४५ जना जेष्ठ नागरिकहरुलाई जाडोको मौसम भएकाले न्यानो उनीको स्विटर, उनीको ओड्ने दिएर सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा भित्र रहेका राज्यको सेवा सुबिधाबाट बञ्चित रहेको १९ पुरुष र ११ महिला गरि ३० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । अपाङ्गता भएका ब्यक्तीहरुलाई न्यानो कपडा सिरक, तन्ना बितरण गरिएको जनाएको छ । वडा भित्रका बिपन्न परिवारका असाय, परियार बिहिन, जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृद्धि बितरण गरिएको थियो । त्यसैगरी कक्षा १ देखि कक्षा ७ सम्मका २२ जना बालबालिकालाई प्रति बिद्यार्थी १ हजारका दरले र कक्षा ८, ९, १० का ३० जना बालबालिकालाई प्रति बिद्यार्थी १ हजार ५ सयका दरले र कक्षा ११ र १२ प्राविधिक शिक्षाका ८ जनालाई ५ हजारका दरले ६० जना बिद्यार्थीलाई छात्रबृद्धि नगर प्रमुख चौधरीले प्रदान गरिएको थियो ।
त्यसैगरी नेकपाका नेता प्रमेश्वर घिमिरेले भने १६ नम्बर वडा प्राकृतिक श्रोत साधानमा धनि भएकाले यस वडाले नगरपालिकालाई नै पाल्न क्षमता राख्दछ । कार्यक्रममा नगर कार्यपालिका सदस्य गोमा कार्कीले स्वागत गरेको थियो भने भुवन दाहालले सञ्चालन र वडा अध्यक्ष मानबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।









