काठमाडौँ — फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ ।

नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भिषण धितालगायतविरुद्ध उजुरी परेको हो ।

उनीहरूविरुद्ध तोडफोड गरेको, तोडफोड गराउन अरुलाई उक्साएको भन्दै सम्बन्धित गाडी धनीहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक(एसपी) रमेश पण्डितले इकान्तिपुरलाई जानकारी दिए ।

गत सोमबार राति बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।

उजुरी परेका स्थानीय नेताहरूले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । एसपी पण्डितले प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन सुरु गरिएको बताए ।

तपाईको प्रतिक्रिया