मिलन भट्टराई, उदयपुर, नेपाली काँग्रेसका नेता तथा प्रतिनिधी सभा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा.नारायण खड्काले रंगशाला निर्माण गर्नमा सहयोग गर्न नसक्ने भन्दै पन्छिएको बताएका छन् ।
बैदेशिक रोजगारंी दुवईमा रहेका बेलका नगरपालिका २ प्रगति टोलका युवा कमल चाम्लिङलाई रंगशाला निर्माणमा सहयोग गर्न नसक्ने सांसद डा. खड्काले फोन मार्फत जवाफ दिइएका छन् ।
तत्कालिन खेलकुद मन्त्री सत्य नारायण मण्डल भएको बेला नै डा. खड्काले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, यती धेरै समय विति सक्दा पनि सांसद खड्काले कुनै सहयोग गरेका छैनन् । उनले दुखेसो गर्दै भने, ‘चुनावका बेला विकास निर्माण गरि दिने भन्दै बाचा गर्ने तर, चुनाव सकियो बाचाहरु सम्झाउँदा डा. खड्काले आफ्नो पार्टी सरकारमा नभएकाले आफुले विकास निर्माणमा सहयोग गर्न नसक्ने बताएका छन ।’
विदेशमा रहेर गाँउको सामाजिक कार्यमा संलग्न रहेका राईले भने ‘नेता डा. खड्कालाई रंगशालाका निर्माणको विस्तृत प्रस्ताव दिएका थियौ, तर सहयोग गर्न नसक्ने जवाफ आएपछि दुख लागेको छ ।’
बेवारिसे अवस्थमा रहेको फुटवल मैदानलाई २०७३ सालमा नव सृजना रंगशालामा परिणत गर्ने उदेश्यका साथ राईको प्रयासमा रंगशाला निर्माण शुरु भएको थियो । समाजसेवी राईले देश विदेशबाट रंगशाला निर्माण अभियान संचालन गरि करिब २ लाख ६० हजार आर्थिक सहयोग संकलन गरि निर्माण कार्य अघि बढेको छ । ‘रंगशालाको आकार बनाउदै जाँदा विदेशमा रहि काम गर्न त्यति सजिलो भने हुदैन । विदेशमा नै रहेर आफ्नो गाउँको विकासमा निर्माणमा लागेका राईले भने ‘हाम्रा जनप्रतिनिधीबाट सहयोग आउने आसमा केही गरौ भनेर विदेशमा पसिना बगाएर जम्मा गरेको केही रकम त जम्मा गरियो तर, सांसद खड्काले अन्तिम अवस्थामा आएर धोका दिए ।’
बैदेशिक रोजगारीको लागि दुवईमा रहेका राईले डा. खड्कासँग रंगशाला निर्माणको लागि कुरा भई रहन्थ्यो । ‘ सांसद डा. खडकाको आशामा बस्दा बस्दै र उहाँलाई विदेशबाट पटक पटक फोन वार्ता गर्दा मै १५ हजारको कल गरे ।’ सांसद खड्काले आफुलाई नराम्रोसँग धोका दिएको बताउँदै राईले भने ‘उहाँले नराम्रोसंग धोका दिनु भयो, अहिले सांसद खड्काले मलाई भने, मेरो पार्टी सतामा छैन, म सहयोग गर्न सक्दिन ।’ विदेशमा रगत र पसिना सँग होली खेलेर आफ्नो गाउँ ठाउँको बिकासको लागि लागि रहँदा हामीले मत दिएर जिताएको सांसदले कुनै चासो नदेखाउनुमा धेरै दुःख लागेको छ ।
‘धेरै रकम सहयोग गर्न नसके पनि यदि माननीय ज्युले आफ्नो ब्यक्तिगत तर्फबाट नै भएपनि २०–२५ हजार मात्र नै भए पनि सहयोग गर्नु भएको भए मन बुझाउन सजिलो हुने थियो । सांसद खड्काले सहयोग नगरे पनि आफुहरु लागेर रंगशाला निर्माण गरेर नै छोड्ने छु ।’ राईले गुनासो गर्दै भने, ‘चाहे ५० बर्ष नै किन नलागोस तर यो रंगशाला हाम्रो प्रतिष्ठाको विषय बनेकाले जसरी पनि निर्माण गरेर नै छाड्छौ ।’ हाल रंगशालाको निर्माण निरन्तर चलिरहेको छ । रंगशालाको निर्माण काम ४० प्रतिशत काम सम्पन्न भैसकेको छ । रंगशालाको लेबल, पूर्व पश्चिम, मेन गेट, गोल पोष्ट, होडिङ बोर्ड तथा सिमेन्ट पोलको काम सम्पन्न भैसकेको र पुर्ब पट्टी पर्खाल फाउन्डेसनको काम भै रहेको पनि जानकारी गराए । सांसद डा खड्काले केही रकम नदिएपनि बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले रंगशाला निर्माणको लागि चालु आर्थिक बर्ष २०७५।७६ को लागि ७५ हजार रकम विनियोजन गरेका छन । मेयर थापाले रकम बिनियोजन गरेको रकममा विदेशमा रहनु भएका अन्यसँग सहयोग माग गरेर रंगशाला निर्माण पुरा गर्ने राईको योजना छ । 
विदेशमा रहेर विभिन्न सामाजिक कामहरु गर्दै आएका राई बिगत एक दशक भन्दा बढी समयदेखि गाउँ घरमा घटेका विभिन्न घटना तथा विभिन्न समस्याहरु समाधान गर्ने सामाजिक काममा सक्रिय छन । राईकै अगुवाईमा दुबाईमा अलपत्र अबस्थामा रहेका ७ जना नेपालीलाई २०७३ सालमा उद्घार गरि नेपाल फर्काएका थिए । उद्दार गरिएका ७ जना मध्ये बेलका नगरपालिका ५ जना, भोजपुर र सुनसरीका एक एक जना थिए । साथै साउदीमा अलपत्र परेका १३ जना नेपाली दाजुभाइहरुलाई राजदुतावासको सहयोग लिएर व्यबस्थापन गरेका थिए ।
यस्तै मृगौला रोगी बेलका नगरपालिका निबासी महेन्द्र कार्कीको लागि महेन्द्र कार्की बचाउँ अभियान संचालन गरि देश बिदेशबाट ३ लाख सात हजार ४४ रुपैया आर्थिक सहयोग संकलन गरेर पीडित कार्कीलाई प्रदान गरिएको उनले बताए ।
यस्तै बेलका नगरपालिका ८ स्थित रङमहलमा भएको ट्याक्टर दुर्घटनामा घाईतेहरुको उपचारको लागि (बेलका युबा संगठन) फेसबुक पेज मार्फत आर्थिक सहयोग संकलन गरेर राहत कोषमा केही रकम जम्मा गरेको राईले बताए । राईले व्यक्तिगत रुपमा पनि १ सय ५० जना भन्दा धेरै रोगी पीडितलाई सहयोग गरि गरेको छ ।











