उदयपुर । मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिइने असार महिनाको तेस्रो सातासम्म उदयपुरमा करिव प्रतिशत मात्रै रोपाई भएको छ । सोमबारसम्मको तथ्याङ्क अनुसार असाढको तेस्रो सातासम्म उदयपुरमा करिव २५ प्रतिशत मात्र धान रोपिएको छ ।
जेष्ठको अन्तिम सातादेखि पानी परेपनि व्याडको विउ सानै भएकोले रोपाई शुरु हुन सकेको थिएनन् । कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख महेश चौधरीका अनुसार जिल्लामा २४.६ प्रतिशत मात्रै रोपाइँ भएको र बाँकी खेत बाँझै रहेको बताएका छन् । उनका अनुसार प्रतिकुल मौसमका कारण धान रोप्न ढिला हुने चौधरीको भनाइ छ ।

उदयपुरमा १३ हजार ३८० हेक्टर क्षेत्रफलमा वर्खे धान खेती गरिँदै आएको छ । असारको तेस्रो सातासम्म ३ हजार ३४५ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको निमित्त प्रमुख चौधरीले जानकारी दिए ।

उदयपुरमा ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिंचाई सुविधा पुगेको छ भने बाँकी क्षेत्रफलमा आकाशे पानीको भरमा रोपाइँ गरिन्छ । सिंचाई सुविधा पुगेको क्षेत्रमा पनि पानीको मुल नफुट्दा खेतहरु बाँझै रहेको छ । धान खेतीका लागि सिंचाई गरिने त्रियुगा खोला, सेतीखोला, लामाखोला, द्वार खोला, बरुवा, तावाककरु बैजनाथ खोलाको सिंचाईबाट धान खेती हुँदै आएको छ ।

आकाशे वर्षामा निर्भर यहाँका किसान असाढको तेस्रो सातासम्म खेती योग्य जमिनको सबैभन्दा उत्तम मानिएको बेलका नगरपालिकामा २२ प्रतिशत मात्रै धान रोपाई भएको छ । चौदण्डीगढी नगरपालिकामा करिव २१ प्रतिशतले मात्रै धान रोपाई भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिकामा ७ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुनेमा १ हजार ७५० हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको त्रियुगा नगरपालिका कृषि शाखा प्रमुख माधव राउतले जानकारी दिए । त्रियुगा नगरपालिकामा २५ प्रतिशत धान रोपाई सम्पन्न भएको उनले बताए ।

उदयपुरगढीमा धान उत्पादन हुने १ हजार २९ हेक्टर क्षेत्रफल मध्ये २४ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि शाखा प्रमुख पारस फुयालले जानकारी दिए । यस्तै यस वर्ष सात सय बढी हेक्टर क्षेत्रफलमा चैते धान पनि लगाएको फुयालले जानकारी दिए । उदयपुरगढीमा ३ हजार ४ सय ६१ हेक्टर खेती योग्य जमिन रहेको कृषि शाखा प्रमुख फुयालले जानकारी दिए ।

लिम्चुङबुङ गाउँपालिकामा ४१ प्रतिशत धान रोपाई सम्पन्न भएको छ भने कटारी नगरपालिकाका किसानले २४ प्रतिशतले मात्रै धान लगाएको छ ।

यस्तै ताप्ली गाउँपालिकामा ३० प्रतिशत र रौतामाई गाउँपालिकामा २० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चौधरीले जनाएको छ ।

धानको पकेट क्षेत्र मानिएका जिल्लाको त्रियुगा नगरपालिका, जोगिदह, हडिया, सुन्दरपुर, कटारी, हर्देनी, बेल्टार, मंयाखु, रौता, पंचावती, तपेश्वरी, रामपुर, रातापानी लगायतका स्थानीय कृषकहरु आकाशे पानीको भरमा निर्भर छन ।
उदयपुरमा वर्खे र चैते गरी १४ हजार ९३४ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया