उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेको परिसरमा रहेको टेण्डर नै नलागेको कवाडीहरु कर्मचारीको मिलेमत्तोमा बाहिर लैजान खोज्दा ट्रक र जेसिवी पक्राउ परेको छ । मंगलबार अन्दाजी बेलुका साँढे ४ बजे कवाडी लोड गरिरहेको अवस्थामा ना.६ ख ६२८५ नम्बरको ट्रक र ना.१ गत ४२०८ नम्बरको जेसिवी पक्राउ परेको थियो ।

टेण्डर नै नलागेको कवाडीको सामान ट्रकमा जेसिवीले लौड गरिरहेको अवस्थामा सुरक्षा गार्डले सोधपुछको क्रममा टेण्डर नलागेको पत्ता लागेपछि ट्रक र जेसिवी नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको ट्रक र जेसिवीमा हेटौडाको राम न्यौपानेले लौड गरेर लैजान लागेको खुलेको छ । उनले सिमेन्ट उद्योगको कर्मचारीहरुको मिलेमत्तोमा कवाडी लैजान लागेको अखिल नेपाल औद्योगिक मजदुर संगठन इकाई अध्यक्ष विशेश्वर पाल गडेरीले जानकारी दिए । उनले भने, ‘समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष अध्यक्ष राधे कोइरालाले यस बारे जानकारी दिएपछि हामीले ट्रक र जेसिवी हेर्न जाँदा सुरक्षा कर्मीले नियन्त्रणमा लिएर राखेको थियो । हामीले जिएम साव, प्रशासन प्रमुख र खरिद प्रमुखलाई कसको आदेशमा कवाडी लैजान लागेको भन्दा कसैले जवाफ नदिएको गडेरीले जानकारी दिए ।’ गडेरीले भने, ‘जिएम सावले राति नै ट्रक छोड्नु पर्छ भनेर मलाई फोन गरेपछि मैले हुँदैन, यो सव भोली छलफल गरेर निर्णयमा पुगौला भनेको तर, आज विहान प्रहरी चौकीलाई ट्रक र जेसिवी जिम्मा लगाएको रहेछ । के कारणले, किन ट्रक छोड्न भनेको र आज प्रहरीलाई जिम्मा लगाएको म आफै अचम्म छु।’

ठेण्डर मार्फत उठाइएको कवाडी कार्तिक महिना मै ठेक्केदारले उठाएर लिएर गएपनि आज एकाएक टेण्डर नलागेको सामान उठाउनु केहि रहस्य रहेको गडेरीले बताए ।

यता एकीकृत ट्रेड युनियन महासंघ प्रदेश नं. १ का सचिव चुडामणि पोखरेलले यसमा कर्मचारीहरु कै हात हुन सक्ने बताए । घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही हुनु पर्ने बताए ।

यता उद्योग परिषरबाट ल्याएका ट्रक र जेसिवी जलजले प्रहरी चौकीले छोडि सकेको छ । जलजले प्रहरी चौकीका इन्चार्ज कमल कार्कीका अनुसार राम न्यौपानेको रोहबारमा ट्रक र जेसिवी छोडेको जानकारी दिए । राम न्यौपानेलाई उध्रित गर्दै प्रहरी इन्चार्ज कार्कीले भने, ‘सिमेन्ट उद्योगकै कर्मचारीले देखाएपछि लिएर लिन आएको हुँ भनेको छ, आवश्यक छानविन भईरहेको छ ।’

यस विषयमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सूचना अधिकारीलाई जानकारी माग गर्दा आफु बाहिर रहेको र यस विषयमा चार पाँच दिनपछि जानकारी गराउँला भन्दै गैर जिम्मेबार जवाफ दिए ।

यता महाप्रबन्धक गोपी न्यौपानेसँग सम्पर्क गर्दा टेण्डर प्रक्रिया भन्दा बाहिरको सामान उठाएर लैजान लागेको स्वीकार गरेको छ । उनले यस विषयमा डिजिएम महेश साहको नेतृत्वमा पाँच सदस्य छानविन समिति बनेको छ । त्यसले १५ दिन भित्र सत्य तथ्य जानकारी दिएपछि जानकारी दिउँला भन्दै पन्छिन खोजेको छ ।

तपाईको प्रतिक्रिया