उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं. १ मा दुई दिने व्यवसायी पशुपंछी पालन तथा पशुमा लाग्ने रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिका पशु पंक्षी विकास शाखाको आयोजनामा दुई दिने व्यवसायी पशुपंछी पालन तथा रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न भएको हो ।
तालिममा १७ महिला र १३ पुरुष गरी ३० जनाको सक्रिय सहभागिता रहेको पशुपंक्षी विकास शाखा प्रमुख शेखर कार्कीले जानकारी दिए । उनका अनुसार तालिममा गाई, भैसी, बाख्राको उन्नत जात, उनीहरुमा लाग्ने रोगहरु बारे जानकारी लगायत जोखिम न्यूनीकरणको लागि पशुपंक्षीको विमा बारे जानकारी लगायतको विषयमा तालिम दिनुको साथै खोर मर्मत बारे पनि जानकारी दिइएको थियो ।
यस्तै पशुमा लाग्ने खोरेत, भ्यागुते, चरचरे, पि.पि.आर, स्वाइन फिवर जस्ता रोगहरुको बारेमा तालिममा जानकारी दिइएको कार्कीले बताए । उनका अनुसार यी रोगहरुका लक्षण देखा परेमा धनमालको क्षति हुनबाट बचाउन नजिकैको पशु स्वास्थ्य क्लिनिक वा गाउँपालिका पशु सेवा कार्यालयमा सम्पर्क गर्न सकिने बताए ।
यस्तै पंछीमा लाग्ने रोग सम्बन्धि बर्डफ्लु र रानिखेत आदिको बारेमा तालिममा जानकारी दिइएको थियो ।
तालिम पश्चात गाई, भैसी र बाख्रामा लाग्ने रोग नाम्ले र जुवाको औषधि पनि वितरण गरिएको कार्कीले बताए । तालिममा सहभागी सवैलाई घरमा पालिकाको पशुपंछीलाई पुग्ने औषधि वितरण गरिएको कार्कीले बताए ।
व्यवसायी पशुपंछी पालन र रोग नियन्त्रण सम्बन्धि तालिमले आफुहरु पशुपंछी व्यवसायी गर्न आफुहरुमा हौसला प्रदान गरेको तालिममा सहभागी भरत दाहालले जानकारी दिए । उनका अनुसार पालिकाले समय समयमा उन्नत जातको पशुपंछी पालन र लाग्ने रोगहरु बारे तालिम दिनु पर्ने बताए । तालिमले व्यसायिक पशुपालनमा लाग्न सहयोग गर्ने भएकोले थप तालिमको आवश्क रहेको दाहालले बताए ।